धनुषा- राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन भएमा राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्।
जनकपुरमा मानव विकास केन्द्र नामक संस्थाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता महतोले अब बल सरकारको कोर्टमा रहेको बताए।
'यसमा कस्तो गोल हान्ने, त्यो उहाँहरुको रोजाइको विषय हो', उनले भने, 'नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा हामीलाई छ।'
नेता महतोले सरकारसँग बहुमतको समेत कुनै समस्या नभएको हुँदा संविधान संशोधन गरेर मधेसी जनताले उठाउँदै आएको मागलाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले भने, 'अधिकारको आन्दोलन सम्पन्न नभएसम्म विकासको मार्ग प्रशस्त हुन नसक्ने भएकाले सर्वप्रथम वर्तमान सरकारले मधेसको जनताको मागलाई सम्बोधन गर्न संशोधनको मुद्दालाई गम्भीरताका साथ लिएर समाधान गर्नुपर्छ।'
नेता महतोले रेशम चौधरीको विषय उठाउँदै चौधरीमाथि लगाइएका झुठा मुद्दा यथाशीघ्र फिर्ता हुनुपर्ने माग गरे। उनले भने, 'निर्वाचित सांसदलाई मुद्दा लगाएर अपराध प्रमाणित नहुँदै अपराधी जस्तो व्यवहार गर्नु अनुचित हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।