काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले मुलुकको समृद्धि र विकासप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको बुझाइ गलत भएको बताएका छन्।
कांग्रेस पाल्पा-काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै नेता थापाले मुलुकलाई राजनीतिक स्थायित्व दिएर नभई लोकतान्त्रिक संस्थाहरुलाई बलियो बनाएर मात्रै नेपालको मुहार फेरिन सक्ने बताएका हुन्।
उनले भने, ‘प्रधानमन्त्रीको बुझाइमा समस्या छ। राजनीतिक स्थायित्वले होइन, लोकतान्त्रिक संस्थालाई मजबुत बनाएर मात्रै नेपालको मुहार फेर्न सकिन्छ।’
विकासप्रति प्रधानमन्त्रीको बुझाइमा फरक भएकाले व्यवहारमा फरक भएको भन्दै उनले लोकतान्त्रिक संस्थालाई बलियो बनाउने पहिलो सर्त संविधानको पालना भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘अहिले कांग्रेसले संसदमा उठाइरहेको कुरा सभामुख र उपसभामुख एउटै पार्टीको हुनहुन्न भन्ने हो। त्यो उपसभामुख कांग्रेसले पाउने होइन। नेपाल कम्युनिस्ट पार्टीले जसलाई बनाउन चाहन्छ, फोरम सोरम कसले पाउने हो, उसैले पाउने हो। तर त्यो पाउनका लागि नेपाली कांग्रेस लडेको होइन। कांग्रेसको प्रश्न संविधानको परिपालना हुन्छ कि हुँदैन भन्ने हो।’
नेपालको मुख्य समस्या स्थायित्वभन्दा पनि जनसहभागितासहितको विश्वास भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।