काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
राष्ट्रिय सभागृहमा शनिबार भएको महानगरको तेस्रो अधिवेशनमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले १ सय ९१ बुँदामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। यसमा समुदायदेखि अन्य स्थानीय तह हुँदै प्रदेश र संघ सरकार तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषय समेटिएका छन्।
आर्थिक वर्ष २०७५/०७६ का लागि १६ बुँदे विषयगत नीतिमा १ सय ९१ बुँदे कार्यक्रममा समुदायको सीप तथा क्षमता विकासदेखि सहरी समृद्धि, सहरी सेवा सुविधा वितरणमा सन्तुलन, सुशासन, पारदर्शिता, पहुँचयुक्ततादेखि प्रदेश सरकार, संघ सरकारसँग मिलेर सम्पादन गर्ने काम तथा अन्तर्राष्ट्रिय सम्बन्धबाट महानगरीय गौरव बढाउने काम समेटिएका छन्।
महानगरलाई जीवन्त सांस्कृतिक सहरका रुपमा विकास गर्न तथा यसको गौरवलाई उच्च बनाउन लोककल्याणकारी अवधारणा र संविधानले परिकल्पना गरेको शासनमा नागरिकको पहुँच जस्ता सूचकका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको जनाउँदै सभामा प्रमुख शाक्यले सामाजिक न्यायको सिद्धान्त र भ्रष्टाचारमुक्त विधिको शासन प्रवर्द्धन गर्ने गरी कार्यक्रम प्रस्ताव गरिएको बताए। महानगरले करको दायरालाई विस्तार र व्यवस्थापन गर्दै २०७५/०७६ लाई महानगर कर वर्षको रुपमा मनाउने भएको छ।
स्थानीय नागरिकको जीवन स्तर उकास्न परम्परागत ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, भौतिक तथा सामाजिक उत्थानको योजना बनाउँदा वातावरणीय पक्षलाई विशेष ध्यान दिने, महानगरको निर्माणमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता र साझेदारीलाई प्रश्रय दिने बहु लगानीका सम्भावना बढाउने नीति तथा कार्यक्रम प्राथमिकतामा समेटिएका छन्। राजधानीका अत्याधिक यात्रुको चाप हुने स्थानहरु आधुनिक यात्रु प्रतीक्षालय र आकाशेपुल बनाउने योजना पनि महानगरले अघि सारेको छ।
आगामी वर्षलाई पूर्वाधार विकास वर्ष मानेर काम गर्ने, रानी पोखरी, धरहरा, काष्ठमण्डप लगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माण महानगरको केन्द्रीय भवन (हरिभवन, बागदरबार) पुननिर्माण कार्य, सार्वजनिक पूर्वाधार निर्माणमा गुणस्तरीयता अभिवृद्धि तथा प्रदूषण नियन्त्रण कार्यलाई महानगरले विशेष कार्यक्रमका रुपमा अघि सारेको छ। उपत्यकाभित्रका नदी नाला संरक्षण र सम्वृद्र्धनलाई यसले प्रमुख प्राथमिकतामा राखेको छ।
त्यस्तै, स्वास्थ्य, संस्कृति, सम्पदन तथा पर्यटन, सूचना तथा सञ्चार, वातावरण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, कृषि तथा खाद्य, भवन मापदण्ड, सहरी योजना आयोग नीति पनि महानगरले अंगीकार गर्ने जनाइएको छ।
शहरवासीको समृद्धिको चाहना पूरा गर्ने, जीवनयापन पद्धतिमा सहजता ल्याउने, सुरक्षा र व्यवस्थामा नागरिकलाई विश्वस्त बनाउने, काठमाडौंलाई जीवन्त सांस्कृतिक शहरका रुपमा प्रवद्र्धन गर्ने लक्ष्य पनि महानगरले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।