भैरहवा- रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ यातायात प्रालिले रुपन्देहीमा बस सेवा सुरु गरेको छ। कम्पनीमा दर्ता नभएका सार्वजनिक सवारीसाधनलाई यातायात व्यवस्था विभागले रुट परमिट नदिने गरी निर्देशिका संशोधन गरेपछि यातायात व्यवसायीहरुले यातायात कम्पनी दर्ता सुरु गरी सेवा शुभारम्भ गरेका हुन्।
सिद्धार्थ यातायात प्रालिले रुपन्देहीमा पहिलो कम्पनी अनुसार सेवा दिन थालेको हो। २०७२ सालमा कम्पनी रजिष्टार कार्यालय, काठमाडौंमा दर्ता भएको कम्पनीले रुपन्देहीमा सेवा शुभारम्भ गरी सुरुमा १८ वटा गाडी सञ्चालनमा ल्याएको छ।
कम्पनीले शुक्रबार भैरहवास्थित सिद्धार्थ बसपार्कबाट सेवा शुभारम्भ गरेको हो। पहिलो चरणमा रुपन्देहीको नेपाल-भारत सीमा नाका बेलहियादेखि बुटवल (गोलपार्क), भैरहवा, लुम्बिनी र तौलिहवासम्म सेवा सुरु गरेको छ। यी रुटहरुमा आगामी भदौ महिनाभित्रै एसी सुविधा भएको बसको व्यवस्था गर्न लागिएको सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए। सेवा विस्तारको क्रममा सुरुमा १८ वटा माइक्रोबस सञ्चालन गर्ने र भविष्यमा एसी सुविधा भएको गाडी मात्र सञ्चालन गर्ने सारुले जानकारी दिए।
उनले आगामी दिनमा रुपन्देहीका सम्पूर्ण ग्रामीण क्षेत्र, प्रदेश नम्बर ५ हुँदै देशव्यापी रुपमा नै सेवा विस्तार गर्दै लैजाने बताए।
कम्पनीले सञ्चालनमा ल्याउने भनिएका एसी बस अपांगमैत्री हुने र पूर्ण अपांगलाई भाडामा पूर्ण छुट, आरामदायी र सुरक्षित रहनुका साथै यात्रुहरुको सुविधामा कुनै पनि कसर बाँकी नराखिने बताए।
कम्पनीको हाल ५ करोड अधिकृत पुँजी र ३ करोड ५० लाख चुक्ता पुँजी रहेको छ। साथै कम्पनीले भैरहवास्थित लुम्बिनीरोडमा ५ कठ्ठा जग्गामा निजी बसपार्क निर्माण गर्ने समेत जनाएको छ।
सरकारले यातयात व्यवसायी समितिहरुलाई कम्पनीमा जान भने पनि सरकार स्पष्ट निर्देशिका नभएकाले यातयातको क्षेत्रमा स्पष्ट नीति बताउन आवश्यक रहेको सम्मेलनमा व्यवसायीहरुले सरकारलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।