काठमाडौं– ‘अमेरिकामा बस्न थालेको पनि १४ वर्ष पुगेछ। रामले वनबासबाट फर्किएको समय पनि पुरा भयो। अहिले ६० वर्षको भएँ, अब म पनि संधैका लागि नेपाल फर्किने बारेमा सोच्दैछु।’, लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरको मासिक शृंखला 'हामी कवि र कविता'को असार अंकका एक नायक कवि गोविन्द गिरी प्रेरणाले सुरुवातमै आफ्नो अमेरिका अनुभूतिलाई साटे।
सायद नेपाल फिर्तीको लागि स्वागत अथवा समर्थन के थियो, दर्शकदिर्घाबाट एकोहोरो ताली बजिरह्यो।
‘विदेश जान्छु कि भन्ने कतै मेरो अवचेतनमा रहेको हुनुपर्छ। त्यसकारण सुरु नै नभएको विदेश यात्राको बारेमा उतिबेला नै मैले कविता लेखेको थिएँ।’, पहिलो कविता ‘पलायन यात्रा’को वाचन सुरु गर्नअघि कवि प्रेरणाले भने। सन् १९९२ मा बेलायत पुगेका प्रेरणा अर्को युरोपेली मुलुक जर्मनी हुँदै हाल अमेरिकामा छन्। करिब २६ वर्षको यो अवधिमा लेखिएका कविताहरुलाई उनले समयक्रम मिलाएरै सुनाएका थिए।
स्थान विशेष र विदेशको परिवेशलाई केन्द्रमा राखेर लेखिएका कविता सुनाइरहँदा यस्तो लाग्थ्यो उनी ‘यात्रा कविता’को बिटो लिएर सर्वनाममा छिरेका हुन्। उनले परदेशमा, फ्र्यांकफट, क्यारोलिना, मिड वे, भौँतारिएको छु, रेल स्टेसन र टिकटको लाइनमा उभिएको छु गरी करिब एक दर्जन कविता वाचन गरे।
प्रेरणाको पालो सकिएपछि कविता वाचनका लागि हेटौँडाकी कवि प्रतिमा पाठकलाई मञ्चमा बोलाइयो। तर केही मिनेट मञ्चमा कोही देखिएनन्। ‘सुन्न श्रोता भयौँ तर कविता सुनाउने पाठक भने हराउनुभो’ भन्दै दर्शकदिर्घाबाट आवाज आयो। त्यतिकैमा कवि पाठक मञ्चमा देखिइन्।
‘दुई वर्षअघि काव्य वर्षामा सर्वनाम थिएटरमा अन्य ४ दिदीबहिनी कविहरुसँगै उभिएकी थिएँ। तर समय उही रहेन। यसपटक मेरो जीवनमा अवश्य केही फरकपन छ।’, केही समयअघि मात्रै सुरु भएको आफ्नो वैवाहिक यात्रालाई इन्गित गर्दै पाठकले भनिन्, ‘सुरुमा लभ सिक्वेन्सकै कविताहरु सुनाउँछु।’
प्रेमका गहिरो अनुभूतिहरुलाई निकै कलात्मक तरिकाले कवितामा बाँध्ने कवि प्रतिमाले उस्तै अनुभुतिपरक शैलीमा कविता वाचन गरिन्। सुरुवतामा उनले प्रेममा डुवेका मान्छेहरुबाट र तिमीले जान्छु भनेपछि गरी एक जोडी प्रेम कविता सुनाइन्।
भारतीय नाकाबन्दीताका लेखिएको ‘विषवृक्ष’ तथा सिरियाका कवि असरफ फयादलाई फाँसीको सजाय तोकिएपछि लेखिएको ‘शरणार्थी’ कविता सुनाएर उनी प्रेम कविताबाट केही बाहिरिन खोजिन्।
प्रेम, परिवार, 8 तथा हाम्रो दैनिकीसँग जोडिने हाम्रा हरेक क्रियाकलापहरुमा रहने गरेको अर्कोपटक साँच्ने प्रवृतिलाई व्यंग्य गर्दै उनले ‘बाँकी अर्कोपटक’ कविता सुनाइन्।
‘जीवनको काव्यिकता’ कविता वाचन गर्नुअघि उनले भनिन्, ‘मैले आमा खुसी भएको क्षण यो कविता बरोबर सुनाउने गर्छु।’ पुनः आमालाईनै सम्झिँदै उनले आमालाई खुसी तुल्याउन भने ‘म सुपत्री बन्न सक्दिन’ कविता सुनाउने गरेको अनुभूति साटिन्।
कैदी सम्भावना, अन्तिम दुःख लगायतका करिब दर्जन कविता सुनाएपछि कवि पाठक मुसुक्क मुस्काइन् र दर्शकदिर्घाको बीचतीर बसेका आफ्ना पतिलाई इन्गित गर्दै भनिन्,‘फर समवन स्पेशल, म फेल कविता सुनाउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।