पोखरा– देशका ७ प्रदेशमा सबैभन्दा कम बजेट प्रदेश ४ मा आए पनि त्यसले ठूलो फरक नपार्ने प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताएका छन्।
संसदीय मामिला पत्रकार मञ्च पोखराले शनिबार गरेको पत्रकार भेटघाटमा मन्त्री गुरुङले प्रदेशको भूगोल, जनसंख्या, प्रतिव्यक्ति आय, कलकारखानाका आधारमा बजेट विनियोजन भएको बताए।
प्रदेशले लिएका महत्वपूर्ण योजनामा धेरै रकम राखेर पनि त्यसलाई कार्यान्वयन गर्न नसकिने गुरुङको भनाइ छ।
मन्त्री गुरुङले गुरुयोजना तयार पारेर ठेक्का लगाउन पनि कम्तीमा १ वर्ष लाग्ने बताए।
‘प्रदेशका महत्वपूर्ण आयोजनाहरुमा यही आर्थिक वर्षमा कार्यान्वयन गर्नसक्ने गरी मात्रै रकम छुट्याएका छौं’, गुरुङले भने।
उनले आकारमा ठूलो नभए पनि यथार्थपरक बजेट ल्याएको बताए। बजेटको आकार बढाउनतिर ध्यान नदिएर चालू आर्थिक वर्षको बजेटलाई खर्च गर्ने आधार मानेको उनले जनाए।
शुक्रबार प्रदेश ४ सरकारले २४ अर्ब २ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जसमध्ये चालूतर्फ ६ अर्ब ९१ करोड ५५ लाख, पुँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ र अन्तर–सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ।
कुल बजेट कार्यान्वयन गर्न चुनौती रहेको मन्त्री गुरुङले बताए।
‘कुल बजेटको ७० प्रतिशत मात्रै कार्यान्वयन हुनसक्छ’, उनले भने, ‘तर त्यति भए पनि ठूलो उपलब्धि हुने देखिन्छ।’
विनियोजित बजेटमध्ये भौतिक पूर्वाधार निर्माणमा ५० प्रतिशत, कृषिमा १३ प्रतिशत, सामाजिक क्षेत्रमा २० प्रतिशत र अन्यमा १७ प्रतिशत बजेट छुट्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।