काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्वमा पुष्कर आचार्य समूहको प्यानलनै विजयी भएको छ।
गत मंगलबारदेखि जारी छैटौँ महाधिवेसनमा ४४ सदस्य केन्द्रीय समितीमा ४३ सदस्य आचार्य प्यानलबाट निर्वाचित भएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका आचार्यले प्रतिद्धन्दी खिलानाथ दाहाललाई पराजित गरेका हुन्।
पराजित दाहाल पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। यसअघि अध्यक्ष रहेका दाहाल पुनः सोही पदका लागि चुनावी मैदानमा थिए। अध्यक्षमा विजयी आचार्यले १ मत ल्याएका छन्। वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव विजयी भएका छन्।
६ जना उपाध्यक्षमा तेजेन्द्र कार्की, अजय कुमार राई, इन्दिरा सापकोटा, नेत्र विक्रम थापा, ललितबहादुर श्रेष्ठ र आशा सिंह राठौर विजयी भएका छन्। महासचिवमा योगेन्द्र कुमार कुँवरले ७ सय ६९ मत ल्याई विजयी भए।
त्यसैगरी उपमहासचिवका ६ पदमा पनि आचार्य समुहका उम्मेद्धवार विजयी भएका छन्। कोषाध्यक्षमा मोहनबहादुर बस्नेत विजयी बन्दा सह–कोषाध्यक्षमा सुशिला घिमिरे निर्वाचित भइन्।
शनिबार बिहान सकिएको मतगणनामा अध्यक्षका प्रत्यासी दाहालको समुहबाट ध्रुवचन्द्र गौतम मात्रै विजयी भएका छन्।
प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनपछि भएका कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनमा देउवा निकटका पदाधिकारीले पराजय बेहोरेका छन्। वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्ण सिटौला पक्षको गठजोडबाट कर्मचारी र शिक्षक संगठनमा पनि देउवा पक्षका उम्मेदार पराजित भएका थिए।
शुभेच्छुक संगठन प्रजातान्त्रिक इन्जिनियरर्स एसोसियनमा पौडेल पक्षका इन्जिनियरहरु विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।