प्रत्येक पटक विश्वकप प्रतियोगिता सुरु हुँदा तपाईं कुन देशको समर्थक, कुन देशको प्रशंसक, कुन देशले विश्वकप जितिदिए हुन्थ्यो भन्ने प्रश्न सोधिने गर्छ। फुटबल खेलबारे थाहा पाएदेखि नै मेरो एउटै उत्तर हुने गरेको छ– ब्राजिल।
पहिलेपहिले यस्ता कुराले मलाई बढी रोमाञ्चित गर्थ्यो। अहिले पनि नगर्ने त होइन, तर अहिले जिम्मेवारीमा रहँदै गर्दा अर्को प्रश्न पनि सँगसँगै उठ्ने गरेको छ। कहिलेकाहीँ नरमाइलो पनि लाग्छ। फुटबल प्रतियोगितामा नेपालको उपस्थितिको कल्पनाले मलाई त्यस्तो लाग्ने गर्छ। विश्वकपमै तत्काल नसके पनि अन्य ठूला प्रतियोगिताहरुमा नेपालकै समर्थन गर्न पाउने अवस्था कहिले आउला भन्ने सधैं लागिरहन्छ। विशेषगरी यस्ता प्रतियोगिताहरु सुरु हुँदै गर्दा यस्तो कुराले नरमाइलो महसुस गराउँछ। हामी जिम्मेवार तहमा बसेकालाई यो कुराले लज्जाबोध गराउनुपर्छ भन्ने लाग्छ। यो मेरो मनको भावना मात्रै हो।
विश्वकप प्रतियोगितामा थोरै देशमात्रै पुग्ने हुन्। धेरै राष्ट्रका मानिसहरुले त्यसलाई आफू अनुसार समर्थन गर्ने हो।
मैले थाहा पाएदेखि नै म ब्राजिलको ठूलो समर्थक रहँदै आएको हुँ। तर म त्यतिकै ब्राजिलको समर्थक भएकोचाहिँ होइन। म काठमाडौंको रातो पुलमा हुर्केको हुँ। म हुर्किँदा काठमाडौं ठूलो मैदानहरु भएको ठाउँ थियो। म बस्ने ठाउँ सानो गौचरनको नजिकै भएको र प्रशस्तै खेल मैदानहरु पनि भएको ठाउँ भएकाले यहाँ फुटबलको निकै प्रभाव थियो। जताततै फुटबल क्लबहरु थिए।
हामीहरु पनि फुटबल खेल्दै हुर्कियौं। प्रत्येक दिन स्कुलबाट फर्केपछि हामी कम्तीमा एउटा म्याच त खेल्थ्यौं नै। क्लबहरुका बीचमा पनि म्याच खेलिरहन्थ्यौं। हामीहरुमध्ये धेरै जना राम्रो फुटबल खेलाडी बन्ने सपनाले नै हुर्किएका थियौं।
नेपालमा पहिलोपटक सन् १९८६ को विश्वकप फुटबल हेर्ने अवस्था बन्यो। यद्यपि, त्यतिबेला हाम्रो घरमा टिभी थिएन। नातागोतार अन्य सम्भव भएका ठाउँमा गएर फुटबल हेरिन्थ्यो। मैलेचाहिँ कालिमाटीमा काकाको घरबेटीका गएर फुटबल हेरेको याद छ। त्यतिबेला क्वार्टर फाइनलमै ब्राजिल हारिसकेको थियो। अर्जेटिना र जर्मनी फाइनलमा पुगेका थिए। र, अर्जेन्टिनाले त्यो विश्वकप जितेको थियो। त्यतिबेला नेपालमा अर्जेन्टिना र म्याराडोनाको असाध्यै धेरै क्रेज थियो।
त्यतिबेला मलाई कहाँ र कसरी भन्ने त ट्याक्कै याद छैन। तर ब्राजिलको फुटबलसँग सम्बन्धित डकुमेन्ट्री आएको थियो। त्यसमा पेलेको बारेमा प्रशस्तै जानकारी थियो। उनले फुटबलमा देखाएको जादुको बारेमा चर्चा गरिएको थियो। हुर्कंदै गरेको हामीलाई त्यसले ठूलो प्रभाव पार्योक। त्यसपछि हामी केटाकेटीकै बीचमा पनि पेले महान कि म्याराडोना महान् भन्ने बहस र तर्क वितर्क हुने गर्थ्यो।
यसको प्रभाव हाम्रै घरभित्र पनि परेको थियो। हामी चार जना दाजुभाइमध्ये दुई जना ब्राजिल र दुईजना अर्जेन्टिनाका समर्थक थियौं। एक किसिमको गुटबन्दी नै हुन्थ्यो त्यतिबेला।
सन् १९९० को विश्वकपमा ब्राजिल अगाडि नै बाहिरियो। फाइनलमा अर्जन्टिना र जर्मनी पुगे। त्यतिबेला हामी दाजुभाइकै बीचमा पनि निकै तिक्तता बढेको अहिले पनि म सम्झन्छु।
त्यतिबेला म उपलब्ध भएसम्मका सबै पत्रपत्रिका पढ्थेँ। सम्भव भएसम्म अपडेट पनि रहन्थेँ। म डायरीमा प्रत्येक खेलाडीको बारेमा लेखेर राख्थेँ। फुटबल सकिएपछि मेरो आफ्नै समीक्षा लेखेर पनि राख्थेँ। त्यो मसँग अहिले पनि छ।
सन् १९९४ मा आइपुग्दा ब्राजिलको राम्रो टिम बन्यो। डुंगा, रोमारिया लगायतको टिम निकै बलियो थियो। त्यो विश्वकप ब्राजिलले नै जित्यो। त्यो विश्वकप भनेको हामीले पनि असाध्यै धेरै फुटबल खेलिरहेको बेला हो। असाध्यै उत्साह थियो। जर्सी लगाउने, झन्डा राख्ने गर्थ्यौं। झै–झगडा पनि हुन्थे।
सन् १९९८ मा म त्रिचन्द्र कलेज पढ्दै थिएँ। फाइनलमा ब्राजिल फ्रान्ससँग हारिसकेपछि असाध्यै धेरै नरमाइलो लागेको थियो। भोलिपल्ट बिएस्सीको म्याथम्याटिक्सको जाँच थियो। त्यो खेलले परीक्षा प्रभावित भयो।
सन् २००२ मा आइसकेपछि फेरि ब्राजिलले जित्यो। तर त्यसपछि ब्राजिलले प्रदर्शन राम्रो हुँदाहुँदै पनि धेरै माथि जान सकेन।
सबैभन्दा नरमाइलो चाहिँ अघिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित हुँदा लागेको थियो।
विश्वकप फुटबलमा सुरु भएसँगै अन्य सबै कुराको प्राथमिकता हराउँदै फुटबल नै केन्द्रमा रहने गर्छ।
सुरुसुरुमा धेरै प्रभावित हुदिनँ। तर विस्तारै अघि बढ्दै जाँदा आफैं खेलेको जस्तो, आफैंले जितेको जस्तो, आफैंले हारेको जस्तो 'इमोसनल' भइँदै गइन्छ। खासमा त्यस्तो नहुनुपर्ने हो जस्तो लाग्छ। किनकि, कहाँकहाँका देश खेलिरहेका छन्, त्यसलाई आनन्दपूर्वक हेरेर मनोरञ्जन लिनुपर्ने हो जस्तो लाग्छ। तर मनोरञ्जनभन्दा पनि 'इमोसन' जोडिएर आउँदो रहेछ।
यसपटक पनि ब्राजिलको सशक्त टिम छ। अघिल्लो पटक आफ्नै भूमिमा भएको खेलमा लज्जास्पद रुपमा हारेको थियो। अहिले त्यसको क्षतिपूर्ति लिने समय आएको छ जस्तो लाग्छ।
जे होस्, यसपटकको खेल रमाइलोसँग हेर्ने हो। खेल सुरु हुँदै गर्दा उमेरका कारण पनि पहिलेजस्तै गरी इमोसनल नभइएला कि जस्तो पनि लाग्छ। तर खेल सुरु हुँदै गर्दा उमेर लगायत अन्य कुराको अर्थ नरहने रहेछ।
विश्वकप फुटबल सुरु हुँदै गर्दा नयाँ गुटबन्दी सुरु हुन्छ। यसअघि 8मा पार्टी र विचारको गुटबन्दी हुने गर्थ्यो। तर ती सबै स्थगित भएर फुटबल टिमलाई केन्द्रमा राखेर नयाँ गुटबन्दी सुरु हुन्छ। ब्राजिल गुट, अर्जेन्टिना गुट जस्ता गुटहरु सुरु हुन्छन्। कोही कांग्रेस समर्थकलाई ब्राजिलको गुटमा भएको खुंखार कम्युनिस्ट पनि अर्जेन्टिनाको गुटमा भएको असल कांग्रेस साथीभन्दा नजिकको लाग्ने अवस्था बन्छ। यस्तो खाले गुटबन्दीचाहिँ नेपालले नै यस्ता प्रतियोगितामा भाग लिएपछि मात्रै अन्त्य हुन्छ। नेपालले भाग लिने कुरा कल्पना मात्रै गर्ने भन्दा पनि एउटा संकल्प बनाएर अघि बढ्नुपर्छ।
यो विश्वकपमा ब्राजिलको तर्फबाट मैले बढी ख्याल गर्ने खेलाडी नेइमार नै हुन्। उनको खेल्ने शैली निकै राम्रो छ। तर खेल भनेको टिमकै परिश्रम हुने भएकाले सबै खेलाडीमा भरोसा छ। त्यसमा पनि अहिले ब्राजिलका सबैजसो खेलाडी राम्रा छन्। यसले पनि ब्राजिललाई बलियो टोलीको रुपमा देख्ने र उपाधिको दाबेदार ठान्नेहरु छन्।
फाइनलमा ब्राजिल र अर्जेन्टिनाको भेट होस् भन्ने मेरो चाहना छ। त्यसो भयो भने त्यो खेल क्वालिटीको हुन्छ। मलाई मेसीको खेल हेर्ने पनि रहर छ।
सन् २००२ को विश्वकप जितेको क्षण मलाई निकै ताजा छ। रोनाल्डोको गोल, कपाल तथा त्यो खेलको एउटाएउटा क्षण याद छ। तर त्यसपछिको विश्वकप सम्झनालायक भएको छैन। अर्जेन्टिनालाई हराएर यो विश्वकप ब्राजिलले जित्यो भने मजा आउने थियो। कारण, ब्राजिलले विश्वकप जितेको मजा लिन नपाएको धेरै भइसकेको छ।
(कांग्रेस नेता थाापासँग किशोर दहालले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।