काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरुमा व्यक्तिवादी मानसिकता हाबी भएको बताएका छन्। उनले विगत केही समयदेखि नेपाली कम्युनिष्टमा सामूहिकतामा ह्रास आँउदै गरेको बताए।
प्रेस चौतारी र प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुलाई पार्टी कार्यालय धुम्वाराहीमा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकताको अन्तर्राष्ट्रिय महत्व रहेको भन्दै प्रचण्डले एकताका लागि मात्रै एकता नभएको प्रस्ट्याए। पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई विश्वले ध्यानपूर्वक हेरेको उनको भनाइ छ।
एकीकरणका क्रममा राम्रा र नराम्रा दुवै पक्ष आएकाले शुद्धिकरण हुँदै जाने बताए। कम्युनिष्टमा संघर्ष–रुपान्तरण–एकता लामो समयदेखि चल्दै आएको उनले बताए।
‘आत्म केन्द्रित चिन्तन, स्वार्थ, गुट, अपारदर्शीजस्ता अवगुणहरु कहीँ न कहीँ हामीभित्र छ,’ उनले भने, ‘नयाँ आधारमा नयाँ एकता कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय नियम हो।’ विचार र कार्यदिशा भन्दा बाहिर गएर पार्टीहरुको एकता सम्भव नहुने प्रचण्डको भनाइ छ।
उनले पार्टीले सञ्चारकर्मीहरुबाट ठूलो अपेक्षा गरेको बताए। ‘एक्काइसौं शताब्दी 8वादको युग भएकाले त्यसलाई सफल बनाउन सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ।’
जेठ ३ मा पूर्व नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि पार्टी निकटका संगठनहरुको एकीरकण प्रक्रिया पनि सुरु भएको छ। विघटित एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टरका पत्रकारहरु पनि एकीकरणको अन्तिम चरणमा पुगेको बताइएको छ।
एकीकरणका लागि विहीबार प्रेस चौतारीको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा बसेको थियो भने आज बिहान प्रेस सेन्टरको बैठक धुम्वाराहीमा बसेको थियो। ती दुवै संगठनका अन्तिम बैठक बसेको बताइएको छ। पार्टी निकट पत्रकार संगठन एकीकरणका लागि पार्टीले योगेश भट्टराई र पम्फा भुसाललाई खटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।