काठमाडौं- कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको लागि सडक विस्तारलाई प्राथमिकतामा राखेको छ। जस अन्तर्गत जनता सडक कार्यक्रम अगाडि सारेको छ। उक्त कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड रुपैयाँ पर्ने गरी १ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ। साथै लागत भारलाई ध्यानमा राखेर हुम्ला, डोल्पा र मुगुमा केही बजेट थप गर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ।
साथै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पर्यावरमैत्री र व्यवस्थित सहरको रुपमा विकास गर्न राजधानी पूर्वाधार विशेष कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको छ। जसका लागि विस्तृत गुरु योजना तयार गर्नुका साथै पूर्वाधारका कार्यक्रमहरू वीरेन्द्रनगर नगरपालिकासँगको समन्वय र साझेदारीमा सञ्चालन गरिने जनाइएको छ। उक्त कार्यका लागि ११ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
प्रदेशको राजधानी सुर्खेतको चक्रपथ निर्माण तथा स्तरोन्नति कार्यलाई अगाडी बढाइने जनाइएको छ। जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने, कर्णाली प्रदेशबाट अन्य प्रदेश जोड्ने अन्तर प्रादेशिक तथा दुई वा दुई भन्दा बढी जिल्ला जोड्ने प्रदेश गौरवका सडक आयोजना निर्माण कार्य अघि बढाइने छ। बहुवर्षीय आयोजनाको रुपमा सञ्चालन गरिने उक्त सडकहरूको लागि १ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको लागि २८ अर्ब २८ करोड २८ लाख २८ रुपैयाँ बजेट विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।