काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं, निर्माण व्यवसायीहरुले पुरानो इँटा फालिदिएको जस्तो देखिने बताएका छन्। भृकुटीमण्डपमा आजबाट सुरु भएको सातौं घरजग्गा मेलाको उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुले अव्यवस्थित बस्ती बसाउँदा काठमाडौं फोहर देखिएको बताए।
उनले भने, ‘निर्माण व्यवसायी काठमाडौं केन्द्रित भएकाले पनि अव्यवस्थित रुपमा बस्तीको विस्तार भएको हो।’ अब निर्माण व्यवसायीहरु ग्रामीण भेगमा जान आवश्यक रहेको बताए।
सरकारले अब हरेक बस्तीलाई व्यवस्थित बनाउनको लागि अनुमति प्राप्त कम्पनीबाट मात्रै निर्माण कार्य गर्न पाउने नीति ल्याएको बताए।
‘योजनावद्ध रुपमा बस्ती निर्माण गर्ने योजना आएको छ। बस्तीलाई व्यवस्थित गर्दा पुरानो सम्पदाको पनि संरक्षण होस् र उर्भर भूमि पनि नष्ट नहोस्।’, प्रधानमन्त्री ओलीले भने। यसका लागि निश्चित स्थानहरु निर्धारण गरेर शहरीकरणमा केन्द्रीत हुन आवश्यक रहेको उनको भनाइ थियो।
यता घरजग्गा व्यवसायीले भने घरजग्गा व्यवसायको विकास र विस्तार गर्नको लागि अहिले भएका केही नियम कानुनमा नै परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। नेपाल घरजग्गा आवास संघका अध्यक्ष इच्छाराज तामाङले सरकारको सुन्दर शहर निर्माण योजनालाई साकार बनाउन अहिले भएको नीति नियमलाई परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले भने,‘व्यवसायीहरु सुन्दर नेपाल निर्माणमा तत्पर रहेकाले सरकारले तत्काल नीति नियमलाई परिमार्जन गरि लगानीमैत्रि वातावरण बनाउनु पर्छ।’
त्यस्तै, नेपाल घरजग्गा आवास संघका महासचिव मिनमान श्रेष्ठले यस क्षेत्रको विकास र विस्तार गर्नको लागि अहिले भएको नीतिमा संशोधन गर्न आवश्यक रहेकोमा जोड दिए। साथै उनले सरकारले पहिलो पटक घर खरिद गर्ने ग्राहकलाई आयकरमा छुटदिनु पर्ने जिकिर गरे। ‘अव्यवस्थित घर निर्माण हावी भएको छ। यसलाई व्यवस्थित गर्न सरकारले नीति परिर्वतन गर्न आवश्यक छ।’, श्रेष्ठले भने।
प्रधानमन्त्री ओलीले व्यवसायीका मागलाई सम्बोधन गर्दै भने,‘व्यवसायीले आफ्नो पक्षको मात्रै कुरा गरेर नीति परिर्वतन गर्न आग्रह गरेको हो की साँच्चिकै आवश्यक छ, त्यसलाई अध्यनन गरेर परिआए संविधान नै संशोधन गर्छौं।’
भृकृटीमण्डपस्थित प्रदर्शनी हलमा आगामी असार ५ गतेसम्म चल्ने मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीको उत्पादन तथा बिक्रेता, इञ्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी रहेका छन्।
(फाेटाे : निमेष जंग राई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।