काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी समिति सदस्य योगेश भट्टराईले नेपाली कांग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाएका छन्। पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताए।
'कांग्रेसलाई यति धेरै छटपटी किन भइरहेको छ, त्यो बुझ्न सकिएको छैन। विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत छ,' उनले भने, 'सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कोही कसैले पनि आपत्ति मान्नु पर्दैन।'
नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।