संयुक्त राष्ट्रसंघ- बङ्गलादेशको कोक्स बजारमा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएको छ। हजारौँको सङ्ख्यामा रहेका उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले जनाएका छन्। केही दिनयता बङ्गलादेशमा सुरु भएको मनसुनी वर्षाका कारण यस्तो अवस्था देखिएको उनीहरुको भनाइ छ।
कडा रुपमा आएको हावा र अविरल वर्षाका कारण ती बालबालिकाको स्वास्थ्य र सुरक्षामा डरलाग्दो स्थिति देखा परेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का प्रवक्ता फर्हान हकले जानकारी दिए।
कोक्स बजारमा हाल म्यानमारका रोहिंग्या शरणार्थीहरु बस्दै आएका छन्। त्यहाँ करिब एक लाख बालबालिका मात्र रहेका छन्। त्यस्तै स्वास्थ्य अधिकारीहरुले पनि पानीजन्य रोगहरुको प्रकोप फैलिन सक्ने भन्दै यहाँका अधिकारीहरुको ध्यानाकर्षण गराएको बताइएको छ।
अविरल वर्षाको कारण करिब ९ सय शरणार्थी शिविर, १५ वटा खानेपानी लाइन, युनिसेफले सहयोग गर्दै आएको दुई वटा खाना वितरण केन्द्र लगायत स्वास्थ्य केन्द्र ध्वस्त भएको बताइएको छ।गत वर्षको अगस्टबाट म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण करिब ७ लाख म्यानमारका शरणार्थी बङ्गलादेशको कोक्स बजार पुगेका छन्। ती मध्ये अझै पनि ६ लाख ७० हजार बङ्गलादेशको कोक्स बजारमा नै रहेका छन्।
अझै घर फर्किन पाएनन् शरणार्थी
यसैबीच आजभन्दा करिब ८ महिनाअघिदेखि त्यहाँ रहेका उनीहरुलाई स्वदेश फिर्ता गर्नका लागि कुनै प्रभावकारी काम हुन सकेको छैन। गत अक्टोबर महिनामा एक समिति गठन गरिएको र सोही बमोजिम सहमति पनि भए पनि उनीहरु अझै पनि घर फर्किन पाएका छैनन्।
महिनादिन मात्र अघि ती शरणार्थीहरुको पहिलो लट स्वदेश फर्किएको थियो। स्वदेश फर्किनेको सङ्ख्या ३० हजार छ। त्यसपछिको अर्काे लट फर्किन पाएको छैन।
विश्वभरबाट म्यानमारका शरणार्थीलाई फिर्ता गर्न माग भएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा यस विषयमा सहमति भएको थियो।
म्यानमाली शरणार्थीलाई बङ्गलादेश र म्यानमारका उच्च अधिकारीबीच भएको छलफलअनुसार गत जनवरी २३ बाट नै फर्काउने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।