इटहरी– बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन्।
उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले बताएको छ।
गत जेठ ६ गते देवु मुखियाका छोरा रामकुमार मुखियाले सप्तरी जिल्लाको तिरहुता गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग आमा–बाबुको मञ्जुरी विना बिवाह गरेका थिए। बालिकालाई विवाहपछि भारतको विहारस्थित घरमा पुर्याएको र बालिकाले घरमा बस्न इन्कार गर्दै त्यहाँबाट भागेर नेपाल—भारत सीमा नजिक भण्टाबारी आइपुग्दा उनलाई पुनः ललाइफकार्इ घरतिर लैजाने कोसिस गर्दैगर्दा प्रहरीले दुवैलाई फेला पारेको बताइएको छ।
बालिकाले विवाह भएका केटा रामकुमारसँग जान नमानेको अवस्थामा प्रहरीले फेला पारेर सोधखोज गर्दा बालविवाह गरेको खुलेकाले बालविवाहकर्ता मुखियासहित बालिकालाई समेत नियन्त्रणमा लिएर सोधखोज एवम् अनुसन्धान गर्दै उनीहरुका अभिभावकको समेत खोजी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जानकारी दिएको छ।
प्रहरीले नियन्त्रणमा लिएकी बालिकालाई भने सुरक्षार्थ सुनसरी सदरमुकाम इनरुवामा रहेको सेफ हाउसमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।