वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षका भएका छन्।
गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङ्टनको राजनीतिमा फर्किएका राष्ट्रपति बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गरेका अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।
सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सबैभन्दा पाको व्यक्ति हुन्। अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्ष थिए। यसअघि सन् १९८४ रोनाल्ड रेगनले ७३ वर्षको उमेरमा राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेका थिए।
ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको बताइएको छ। गत जनवरीमा गरिएको स्वास्थ्य परिक्षणमा उनी स्वस्थ्य रहेको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याकसनले स्पष्ट पारेका थिए।
ट्रम्पको रक्तचाप (ब्लड प्रेसर) ल्यावका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उनका निजी चिकित्सकले बताएका थिए।
उनको शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाइ रहेको छ। अमेरिकी नागरिकहरु उनको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन्।
यसैबीच नेपालस्थित अमेरिकी राजदुतावासले राष्ट्रपति ट्रम्पको जन्मदिनको अवसरमा नेपाली भाषामा शुभकामना दिएको छ। ट्विटरमा एक सन्देश जारी गर्दै दुतावासले शुभकामना दिएको हो।
(रासस/एएफपीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।