पोखरा– पोखरा रामबजारमा बुधबार ११ वर्षीय ज्ञापन घलेको घाँटी रेटेर ज्यान गयो। घटनामा ज्ञापनका बाबु रामजी घले र आमा सुमित्रा ठकुरी घाइते भए। ठकुरीको पेटमा रहेको बच्चाको समेत मृत्यु भयो। सो घटनामा ज्वाइँ रामजीको संलग्नता रहेको सुमित्राकी आमा धनमाया ठकुरीले बिहीबार प्रहरीमा जाहेरी दिएकी छिन्।
सुमित्राकी आमा धनमायाले ज्वाइँले नै नाति ज्ञापनको हत्या गरेको र सुमित्राको हत्याको प्रयास गरेको भनी प्रहरीमा किटानी जाहेरी दिएकी हुन्। ज्वाइँले धारिलो हतियार प्रयोग गरी नातिको हत्या र छोरी सुमित्राको हत्या प्रयास गरेकोमा आवश्यक अनुसन्धान गरी पाऊँ भनेर उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको स्रोतको भनाइ छ।
प्रहरी स्रोतका अनुसार, घटनाको अनुसन्धानको लागि आवश्यक प्रमाण जुटिसकेको छ। स्रोतले भन्यो, ‘चक्कुमा हातको रेखा भेटिएको छ। भित्तामा मेरो हत्या रामजीले गरेको हो भनेर लेखिएको रगत र अन्य ठाउँमा रहेको रगतको परीक्षण भइरहेको छ।’
प्रारम्भिक अनुसन्धान रगत परीक्षण र मुचुल्काको आधारमा गरिएको स्रोतको भनाइ छ। ‘घटनामा अहिले दोषी भनिएका सबैसँग बयान लिने काम भइरहेको छ, यो नै अनुसन्भानको प्रमुख पाटो हो’, स्रोतले भन्यो।
रामजी र सुमित्रा दुवै उपचारार्थ रहेकाले प्रहरीले उनीहरुको बयान नलिएको बताएको छ।
प्रहरी स्रोतका अनुसार ज्ञापनको शव अहिले पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। शवको पोस्टमार्टम बिहीबारसम्म भएको छैन। अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘प्रहरीले चाहेर मात्र पोस्टमार्टम गर्न पाउँदैन। त्यसैले पोस्र्टमार्टम गर्न आवश्यक कागजहरु जुटाउँदै छौं।’
घटनाबारे दुईपक्षीय वार्ता
उक्त घटनाबारे बिहीबार नै सुमित्राका माइती र घर पक्षको वार्ता भएको छ। वार्तापछि डिएसपी गोविन्द पुरीको संयोजकत्वमा ५ सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको छ।
मकवानपुर घर भई पोखरामा पेन्टर काम गर्ने ३९ वर्षीय रामजी घलेले गर्भवती पत्नी र छोरामाथि चक्कुले आक्रमण गरेपछि आफैंले आफ्नो घाँटी रेटेको प्रहरीको आशंका छ। रामजीकी पत्नी सुमित्राको गर्भबाट बुधबार मृत बच्चा शल्यक्रिया गरी निकालिएको थियो। घाँटी रेटिएको अवस्थामा फेला परेका रामजीको पनि मनिपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।