सर्लाही– अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम सेमिफाइनल खेलमा विभागीय टिम एपिएफले ए डिभिजन क्लब रुस्लान थ्रीस्टारलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुलिस क्लबसँगको भेट पक्का गरेको छ।
राधाकृष्णस्थित खेल मैदानमा खेल सुरु भएको ९ मिनेटमै एपिएफका तर्फबाट जर्सी नम्बर १५ का रुपबहादुर लामाले कर्नरबाट आएको बललाई गोलपोस्ट नजिकबाट हेडगोल गरी आफ्नो टिमलाई १-० गोलको अग्रता दिलाउन सफल भए। लगत्तै पुनः एपिएफकै तर्फबाट खेलको १४ मिनेटमा जर्सी नम्बर ११ का नबिन लामाले डि बक्सभित्र प्राप्त गरेको बललाई सिधै गोल पोस्टको दिशा देखाउँदै खेलमा थप अर्को गोल गरी आफ्नो टिमलाई २-० गोलको अग्रता दिलाउन सफल भए।
२ गोलले पछि परेको थ्रीस्टारले खेलको २३ मिनेटमा रन्जन विष्टले कर्नरतिरबाट क्रस गरेको बललाई अन्मार्क रहेका जर्सी नम्बर ४५ का अजयी मारटिनले वानटच प्रहार गर्दै उत्कृष्ट गोल गरी खेललाई २-१ गोलअन्तरमा पुर्याउन सफल भए।
एपिएफका तर्फबाट युवराज खड्काले गोलकिपरलाई समेत बिट गरी प्रहार गरेको बललाई गोललाइन नजिकबाट थ्रीस्टारका खेलाडीले क्लियर गरिदिँदा थप गोल हुनबाट बचेको थियो।
यस्तै खेलको अन्त्यतिर थ्रीस्टारका बुद्ध चेम्जोङले डि बक्स बाहिरबाट गरेको कडा प्रहारलाई एपिएफका खेलाडीले गोल लाइनबाट बचाउँदा थ्रीस्टारले पनि बराबरी गोल गर्ने अवसर गुमाएको थियो।
बारम्बार गोल फर्काउने प्रयास गरेको थ्रीस्टारले पहिलो हाफमा थप गरिएको ३ मिनेट समयको पहिलो मिनेटमै थ्रीस्टारका अजयी मारटिनले डि बक्स बाहिरबाट एक्लै बलअघि लगी एपीएफका गोलकिपरलाइ समेत छक्याउँदै गोल गरी आफ्नो टिमलाई २-२ गोलको बराबरी गराउन सफल भए।
दोस्रो हाफपछिको पहिलो मिनेटमै एपिएफका तर्फबाट जर्सी नम्बर १० का युवराज खड्काले थप अर्को गोल गरी आफ्नो टिमलाई ३-२ गोलको स्थितिमा पुर्याए। यस्तै एपिएफका जर्सी नम्बर ९ का प्रवीन स्याङ्तानले खेलको ७६ औं मिनेटमा पुनः थप अर्को गोल गर्दै आफ्नो टिमलाई ४-२ गोलको बलियो स्थितिमा पुर्याउन सफल भए।
यस्तै थ्रीस्टारका तर्फबाट जर्सी नम्बर १७ का बुद्ध चेम्जोङले खेलको ८२ मिनेटमा डि बक्सबाहिरबाट कडा प्रहार गरी उत्कृष्ट गोल गर्दै खेललाई ४-३ गोल अन्तरमा पुर्याउन सफल भए। खेलमा थप गरिएको ४ मिनेटभित्र दुवै तर्फका टिमले पाएको केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेनन्। खेलको निर्धारित समयभित्र थप अन्य गोल हुन नसकेपछी एपिएफ क्लबले खेल ४-३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो।
यो जितसँगै एपिएफ क्लब २ नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशी रहेको अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आजको खेलको म्यान अफ दि म्याच एपिएफ क्लबका जर्सी नम्बर ११ का नवीन लामाले नगद ५ हजार प्राप्त गरे।
शनिवार नेपाल पुलिस क्लब र एपिएफबीच फाइनल खेल हुने जिल्ला फुटबल संघ सर्लाहीका महासचिव उज्ज्वल कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।