काठमाडौं– आजदेखि सुरु हुने विश्वकप फुटबलको ‘फिभर’ले उपत्यकाकालाई समेत छोइसकेको छ। टोलटोलमा विश्वकपको चर्चा छ।
प्रहरीले पनि विश्वकपमा हुन सक्ने सुरक्षा चुनौतीलाई केलाएर यसका लागि विशेष सुरक्षा योजना बनाइएको छ। प्रहरीका अनुसार फुटबल हेर्ने क्रममा झै–झगडा हुन सक्ने भएकाले टोलटोलमा प्रहरी खटाउने तयारी छ। जिल्ला सुरक्षा समितिको बैठकले फुटबल हेर्ने क्रममा छिमेकीलाई बाधा पुर्याउनेलाई पक्राउ गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयले त्यस सम्बन्धी परिपत्र गरेको र त्यही अनुसार सुरक्षा योजना बनिरहेको काठमाडौं परिसरका डिएसपी मोहनकुमार थापाले बताए। साथै विश्वकपमा बाजी राख्नेहरुलाई पनि निगरानी राखिएको प्रहरीले जनाएको छ। धेरै जमघट हुने रेस्टुरेन्टहरुमा पनि प्रहरीले निगरानी बढाउने भएको छ।
सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, टिकट काटेर विश्वकप देखाउन नपाउने लगायत निर्णय सुरक्षा समितिले गरेको छ।
मापसे चेकिङमा कडाइ
यो अवधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने सम्भावना हुने भएकाले ट्राफिक प्रहरीले पनि मापसे चेकिङमा कडाइ गरेको छ। ट्राफिक महाशाखाका एसपी सुरेन्द्र मैनालीका अनुसार विश्वकपको अवधिमा मापसे चेकिङमा थप कडाइको योजना बनेको र त्यो आजैदेखि लागू हुने बताए।
मादक पदार्थ सेवन गरी विभिन्न रेस्टुरेन्ट लगायतका स्थानमा बसेर खेल हेरिने र त्यसपछि सवारी चलाएर घर जाने सम्भावना हुन सक्ने भएकाले चेकिङमा कडाइ गर्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ। महाशाखाले नियमित भन्दा थप ठाउँमा मापसे चेकिङ प्वाइन्ट राखेको छ।
यस्तो छ सिडिओ कार्यालयको परिपत्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।