राजविराज– यौन प्रस्ताव अस्वीकार गर्दा सप्तरीमा एक एकल महिला आफ्नै भतिजाद्वारा निर्घात कुटिएकी छिन्।
राजविराज नगरपालिका–७ खर्साल टोलकी ३५ वर्षीया सुनिता मण्डललाई उनकै भतिजा २५ वर्षीय नविन मण्डलले कुटपिट गरेका हुन्।
कुटपिटबाटट घाइते भएकी उनलाई बुधबार राति करिब ११ बजे प्रहरीले उद्वार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याउइएको थियो। उनको टाउको, घाँटी, कम्मर र कानमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ।
पीडित महिलाले बिहीबार पीडक विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपछि प्रहरीले पीडक मण्डललाई घरबाटै पक्राउ गरेको छ। यौन प्रस्ताव अस्वीकार गर्दा आफूमाथि कुटपिट भएको पीडितले बताएकी छिन्। बुधबार राति अत्यधिक मदिरा सेवन गरेर आएका नविनले आफूलाई एक्लै देखेपछि ढोका बन्द गरेर जबर्जस्ती गरेको र आफूले प्रतिकार गर्दा कुटपिट भएको उजुरीमा उल्लेख छ।
‘जबर्जस्ती गर्न खोजेपछि हल्ला गरेँ र प्रहरीलाई पनि फोन गरेँ’ उनले भनिन्, ‘त्यसपछि त झन् पागल जस्तै मुड्की, लात्ती र लठ्ठीले पनि हिर्कायो।’
आफूले हल्ला गरेको सुनेर आएका सासू/ससुरालाई पनि भतिजाले धम्की दिएको सुनिताले प्रहरीलाई बताएकी छिन्।
भारतको बिहारस्थित मधुवनी जिला घोघडीहा ग्राम पञ्चायत माइती भएकी सुनिताका पति सुनिल मण्डलको ८ वर्षअघि सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। पतिको मृत्युपछि आफू असुरक्षित भएको उनले गुनासो गरिन्।
‘पतिको मृत्यु भएपछि घरपरिवारले सहयोग गर्लान् भन्ने छैन’, उनले भनिन्, ‘मौका छोपेर ममाथि यस्तो घटना पटकपटक हुँदै आएको छ।’
परिवारका सदस्यबाट नै असुरक्षित भएको भन्दै उनले सुरक्षित रुपमा बस्न पाउनुपर्ने माग गरेकी छिन्।
पीडित महिलाका २ छोरा छन्। कक्षा १० र १२ मय पढ्दै गरेका दुई छोरा घरमा नभएको मौकामा आफूमाथि कुकर्मको प्रयास भएको उनले बताइन्।
जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।