म विद्यार्थी कालदेखि नै फुटबलमा चासो राख्थेँ। इलाममा फुटबल पनि खेलेँ। आफ्नो टोल वा क्याम्पस टिमको त क्याप्टेन नै थिएँ। त्यतिबेला म फरवार्ड पोजिसनमा खेल्थेँ।
बिए पास गरेपछि म काठमाडौं आएँ। त्यसपछि खेल्ने कुरा बन्द भयो। तर फुटबल म्याचहरु हेर्ने तथा यसबारे जानकारी राख्ने क्रम भने कम भएन। खेल्न नपाए पनि चाख भने बढ्दै गयो। यहाँ हुने फुटबल प्रतियोगिताहरु म हेरिरहन्थेँ। सम्भव भएसम्म कुनै छुटाउँदैन थिएँ। यहाँ खेल्न आउने विदेशी टिमहरुमा पनि मेरो रुचि थियो। म उनीहरुको खेल ध्यानपूर्वक हेर्थें। यसबीचमा भुटानका टिमका खेल हेरेँ। सिक्किम तथा भारतका मोहनबगान लगायत टिमका खेलहरु हेरेँ।
यसै क्रममा प्रविधिको विकास पनि हुँदै गयो। विदेशमा आयोजना भएका खेलहरु पनि हेर्न पाइने अवस्था बन्यो। स्वाभाविक रुपमा त्यता पनि मेरो ध्यान बढ्दै गयो। यसरी क्लब स्तरका फुटबलहरु हेर्न थालियो। ला-लिगा, इंग्लिस प्रिमियर लिग, च्याम्पियन लिग मैले ध्यानपूर्वक हेर्छु। ला-लिगा चाहिँ मलाई थप रुचिपूर्ण लाग्छ।
यसै क्रममा विश्वकपको रोमाञ्चमा पनि जोडिएँ। आजदेखि रुसमा सुरु हुने विश्वकपको पछिल्लो शृंखलाप्रति म निकै उत्साहित छु। म त्यहाँ हुने खेल हेर्नका लागि तयारीका साथ बसिरहेको छु।
म्याराडोना लगायतका हस्तीले खेलेका खेलदेखि म विश्वकप निरन्तर हेरिरहेको छु। यो विश्वकपमा मेरो रोजाइको टिम अर्जेन्टिना हो। यो मेसीको कारणले नै हो।
पहिले मलाई ब्राजिल मनपर्थ्यो। रोनाल्डो, रोनाल्डिन्हो लगायतका खेलाडीहरु हुँदाका बेला म ब्राजिलको फ्यान थिएँ। पछिल्लो समयका विश्वकपमा पनि मेरो दोस्रो रोजाइ ब्राजिल नै हो। तेस्रो भने स्पेन।
अर्जेन्टिनामा मेस्सीको उदय भएपछि म अर्जेन्टिनाको फ्यान भएको छु। उनको उदयपछि नै अर्जेन्टिनाप्रति मेरो रुचि बढ्यो। बार्सिलोनामार्फत उनको खेल कौशल मलाई खुबै मन परेको हो।
मेस्सी मन पर्नुमा मेरा केही कारण छन्। उनी पूर्ण खेलाडी छन्। उनको ड्रिबलिङ राम्रो छ। पास राम्रो गर्छन्। गोल राम्रोसँग गर्छन्। उनको खेल निकै स्वाभाविक लाग्छ। उनले बल गरीगरी खेल खेलिरहेका छन् भन्ने नै लाग्दैन। त्यसैले त मानिसहरु भन्छन्– मेस्सीले खेलेको हेर्दा फुटबल खेल्न साह्रै सहज रहेछ कि जस्तो लाग्छ!
उनको खेल कौशल प्रकृत्तिपदत्त हो जस्तो लाग्छ। हुन त अरु पनि राम्रा खेलाडी छन्। तर उनीहरु मेहनत गरेर खेलिरहेका छन्, जबर्जस्ती खेलिरहेका छन् भन्ने टिप्पणी हुने गरेको छ। तर मेस्सीको हकमा त्यस्तो आरोप लाग्दैन।
मैले अघि नाम लिएका तीन टिममध्ये दुई टिम फाइनलमा पुगून् भन्ने लागेको छ। तर जित्न चाहिँ अर्जेन्टिनाले जितोस्। मेसीले राम्रो सफलता हासिल गरुन् र देशको निम्ति विश्वकप जित्ने जुन सपना छ, त्यो पूरा होस्। त्यो नै यो विश्वकपमा मेरो कामना हो।
मैले कल्पना गर्दैगर्दा चाहिँ अर्जेन्टिना र ब्राजिलबीच फाइनल खेल होओस् भन्ने छ। त्यसमा मेसीले ह्याट्रिक गरुन् भन्ने लागेको छ। तर फाइनल खेलमा त्यो अलि सम्भव नहोला। त्यो कल्पना मात्रै हो, यथार्थमा त्यस्तो नहोला। त्यसैले व्यावहारिक रुपमा भन्दा चाहिँ १ गोल र बढीमा २ गोल मेसीले नै गरेर अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने इच्छा छ।
(ने क पा) का नेता नेम्वाङसँग किशोर दहालले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।