धनगढी- आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को २४ देखि २५ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ। बजेट शुक्रबार दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम छ।
बजेटको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सरकारको पहिलो पूर्ण बजेटले भौतिक पूर्वाधार, कृषिमा आत्मनिर्भर हुने खालका कार्यक्रम र गरिबी निवारणलाई मुख्य प्राथमिकता दिएको बताए। सरकारले कृषिलाई बढी महत्त्व दिएकाले ३ देखि ५ वर्षभित्र प्रदेश ७ कृषि उपजमा पूरै आत्मनिर्भर हुने मन्त्री बोहराले दाबी समेत गरे।
बजेटले महिला, दलित र 8मा उपेक्षित जीवन बाँचिरहेकाहरुका लागि लक्षित कार्यक्रम समेट्ने मन्त्री बोहराको भनाइ छ।
शिक्षित र गैरशिक्षितहरुका लागि सोही अनुसारको स्वरोजगार कार्यक्रम लागू हुने जानकारी दिँदै मन्त्री बोहराले प्रदेशका उद्योग, कलकारखानालाई कर छुटको व्यवस्था रहेको पनि बताए।
उनले बजेट महत्वाकांक्षी नभएकाले पूर्णरुपमा कार्यान्वयन हुने बताए। यसअघि प्रदेश सरकारले पहिलो पटक ल्याएको अल्पकालीन बजेट खर्च गर्न प्रदेश सरकारसँग संयन्त्र नभए पनि अहिले पूर्ण बजेट खर्चका लागि संयन्त्र तयार रहेको मन्त्री बोहराको भनाइ छ।
प्रदेश ७ को सरकारले संघीय सरकारबाट सशर्त अनुदान, राजस्व बाँडफाँट र समानीकरणबाट २१ अर्ब बजेट पाएको छ।, त्यस्तै १ अर्ब आन्तरिक कर लगायत अन्य शीर्षकबाट प्राप्त हुने मन्त्री बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।