काठमाडौं- आआफ्नो क्षेत्र र प्रदेशलाई मात्रै प्राथमिकतामा राखेर कार्यक्रम र बजेट विनियोजन गरेको भन्दै सत्तापक्षकै सांसदहरुले मन्त्रीहरुको चर्को आलोचना गरेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सत्तारुढ दलकै सांसदहरुले विषयगत मन्त्रीहरुको आलोचना गरे।
नेकपाका सांसद मेटमणि चौधरीले म्याच फिक्सिङ गर्ने खेडालीलाई जेल पठाइन्छ भने बजेटमा फिक्सिङ गर्ने मन्त्रीलाई किन जेल नपठाउने भनी तर्क गरेका छन्। आवश्यकताको प्राथमिकता निर्धारण गर्नुभन्दा मन्त्री मन्त्रीको मिलेमतोमा आआफ्नो क्षेत्रमा बढी बजेट र योजना पार्नेलाई कारबाही गर्नुपर्ने उनले बताए।
'म्याच फिक्सिङ गर्ने खेलाडीहरुको हातमा हतकडी लाग्छ, जेल जानुपर्छ। आज मन्त्रीहरुले आफ्नो बजेट र प्रोग्राम फिक्सिङ गर्दे आफ्नो निर्वाचन क्षेत्रमा पार्ने काम गरिरहनुभएको छ,' उनले भने, 'प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीहरु जेल जानुपर्छ कि पर्दैन? जेल जानुपर्छ।'
मन्त्रीहरुको प्रोग्राम फिक्सिङले मुलुकको समृद्धिको बाटोलाई अवरोध सिर्जना गर्न सक्ने भन्दै उनले यस्ता मन्त्रीलाई जेल पठाउनुको विकल्प नरहेको तर्क गरे।
नेकपाका अर्का सांसद झपट बहादुर रावलले बजेट विनियोजनमा मन्त्री र नेताहरुले दुरदृष्टि राख्न नसकेको टिप्पणी गरे। बजेट विनियोजन गर्दा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, टोल र वडाभन्दा बाहिर गएर नेपालको मन्त्री बन्न नसकेको टिप्पणी उनले गरे।
'खेलकुदमन्त्रीको क्षेत्रमा ६५ करोड ८५ लाख विनियोजन भएको छ तर ७ नम्बर प्रदेशमा जम्मा २ करोड ५ लाख रुपैया मात्रै विनियोजन गर्नुभएको छ,' उनले भने, 'तपाईंहरुलाई त्यहाँको जनताको श्राप लाग्दैन? त्यहाँका जनताले तपाईंहरुलाई धिक्कार्दैनन्? त्यहाँका जनताको पाप लाग्छ कि लाग्दैन?'
संवैधानिक व्यवस्था विपरीत बजेट विनियोजन गरिएको भन्दै उनले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई प्रश्न गरेका छन्। 'पर्यटनमन्त्री र राज्यमन्त्री भएको ४ नम्बर क्षेत्रमा ८ सय २७ करोड ८३ लाख विनियोजन भएको छ तर मेरो ७ नम्बर प्रदेशमा जम्मा २ करोड ३५ लाख भएको छ। तपाईंहरुलाई दया लागेन? अलिकति पनि विवेकले काम गरेन?' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।