काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्य रुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ।
विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको भन्दै मूल्यसूची अनिवार्य राख्न निर्देशन दिएको जानकारी दिए। 'व्यापारीले मूल्यसूचीका साथै बिल बिजक जारी गर्नुपर्छ, अनुगमनका क्रममा त्यसो नगरेको पाइए कारबाही गछौँ,' उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले बजारमा अनधिकृत रुपमा मूल्य बढाउने कालोबजारी तथा कर, अन्तःशुल्क छल्ने व्यापारीलाई आफ्नो संस्थाले कुनै पनि हालतमा संरक्षण नगर्ने प्रस्ट पार्दै विभागको निर्देशनलाई कार्यान्वयन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि देवेन्द्र श्रेष्ठले बजेटमा करका दरका नीतिगत परिवर्तन भएको भए पनि त्यसले अति आवश्यक दैनिक उपभोग्य वस्तुमा खासै असर नपर्ने बताए।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले केही आयातित वस्तुमा केही अन्तःशुल्क वृद्धि भएका कारण कुनै वस्तुको सामान्य मूल्य वृद्धि भएको बताउँदै अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।