काठमाडौं– देशभरका इँटाभट्टामा ३० हजारभन्दा बढी बालश्रमिक जोखिम मोलेर काम गरिरहेको ग्लोबल फेयरनेस नेपालको एक सर्वेक्षणले देखाएको छ। सन् २०१६/०१७ को तथ्यांकका अनुसार देशभर सञ्चालनमा रहेका १ हजार २ सय ९४ इटाँ भट्टामा सबै उमेर समूहका गरी करिब साढे २ लाख श्रमिकले काम गर्ने गरेको फेयरनेसको सर्वेक्षणमा उल्लेख छ। त्यसमध्ये ३० हजार बालबालिकाले इटाँ भट्टामा कठोर श्रम गरिरहेका छन्।
धेरै बालश्रमिक काम गर्न परिवार र आफन्तका साथ इँटाभट्टामा पुग्ने गरेको सर्वेक्षणका क्रममा पाइएको ग्लोबल फेयरनेस नेपालका प्रमुख होमराज आचार्य बताए। कतिपय बालबालिका आफ्ना आमाबाबुसँगै उद्योग क्षेत्र जादाँजादै त्यही काम गर्न सुरु गर्ने गरेको उनको भनाइ छ।
७ हजार बालबालिका मात्र विद्यालयको पहुँचमा
इँटा उद्योगमा काम गर्ने धेरै बालश्रमिक विद्यालय पुग्नबाट वञ्चित छन्। शिक्षा हासिल नगरेका कारण यस्ता क्षेत्रमा काम गर्ने बालश्रमिक कलिलो उमेरमै धुमपान, मध्यपान लगायत दुव्र्यसनको सिकार हुने गरेको पाइन्छ। आचार्य भन्छन्, ‘धुमपान, मध्यपानका लागि आवश्यक रकम जुटाउन पनि उनीहरुलाई जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता छ।’
यसका अलावा आर्थिक विपन्नता, बेरोजगारी, गरिबी र अशिक्षाका कारण धेरै बालबालिका इँटाभट्टाहरुमा श्रमका लागि जाने गरेको अध्ययनका क्रममा पाइएको फेयरनेसले जनाएको छ। इँटा उद्योगमा काम गर्दै ७ हजारभन्दा बढी बालबालिका विद्यालय जाने गरेको सर्वेक्षणमा जनाइएको छ।
फेयरनेसले भैरहवा र भक्तपुरका इँटा उद्योगमा धैरै बालश्रमिक रहेको दावी गरेको छ।
उता अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले सन् २००३ देखि २०१६ सम्म गरेको सर्वेक्षणले नेपालमा ३१ लाखभन्दा बढी बालबालिका विभिन्न क्षेत्रमा मजदुरी गरिरहेको उल्लेख गरेको छ। ७ देखि १७ वर्ष मुनिकालाई बालबालिका मान्दै यो उमेर समूहका ७० लाख बालबालिकामध्ये ३१ लाख (४० प्रतिशत)ले बाल मजदुरी गरिरहेको र अधिकांश ग्रामीण क्षेत्रका रहेको आइएलओले जनाएको छ।
सर्वेक्षणमा नेपालमा ६ लाख ४० हजार बालबालिका इँटा भट्टा, उद्योग कलकारखाना, निर्माण क्षेत्र र सवारी साधनजस्ता अति जोखिमयुक्त क्षेत्रमा काम गरिरहेको उल्लेख गरिएको छ। तर नेपालमा ६ देखि ७ लाखमात्र बालश्रमिक रहेको सरकारको अनुमान छ। यो क्षेत्रमा पिछाडिएका समुदायका धेरै बालबालिकाले काम गर्ने गरेको जनाइएको छ।
सुरक्षाका सतर्कताको कमीले स्वास्थ्य अवस्था नाजुक
इँटा उद्योगमा काम गर्ने धेरै बालश्रमिक र कामदारको स्वास्थ्य अवस्था नाजुक हुने गरेको पनि फेयरनेस नेपालको सर्वेक्षणमा उल्लेख छ। ९० डिग्री फरेनहाइटभन्दा माथिको तापक्रम र धुलोधुवाँमा काम गर्नुपर्ने भएका कारण धेरैको स्वास्थ्यमा समस्या निम्तिने गरेको हो। इँटाभट्टामा काम गर्ने कामदारले सुरक्षाका लागि आवश्यक सतर्कता नअपनाउने गरेको पाइएको फेयरनेसले दावी गरेको छ। सुरक्षा सामाग्रीको प्रयोगविना काम गर्दा कामदारलाई चोटपटकको सम्भावना तथा विभिन्न प्रकारका रोगहरु देखा पर्ने गरेको पाइन्छ।
इँटाभट्टामा काम गर्दै आएका धेरै कामदार शारीरिक, मानसिक र आर्थिक शोषणमा पर्ने गरेको पनि सर्वेक्षणमा जनाइएको छ। इँटा उद्योगमा काम गर्दै आएका बालिका र महिलाहरु माथि यौन शोषणसमेत हुने गरेको छ। तर उनीहरु उजुरी लिएर प्रशासनसम्म नपुग्ने गरेको फेयरनेस नेपालको सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षणमा भनिएको छ,‘यस क्षेत्रमा हुने धेरै घटना आर्थिक प्रलोभन र धम्की देखाएर दबाउने गरिएको पाइन्छ। साथै इँटा उद्योगमा राज्यको उपस्थितीसमेत न्युन हुने गरेको छ। जसका कारण यस क्षेत्रमा हुने गरेका आपराधिक गतिवीधि बाहिर आउन नसकेको हो।’
२३ इँटा उद्योग बालश्रम मुक्त
फेयरनेसले नेपालका २३ वटा इँटा उद्योगलाई बालश्रमिक मुक्त बनाउन सफल भएको जनाएको छ। यो संस्थाले नेपाल बाल कल्याण समितिलाई बालश्रम अन्त्य गर्न सहयोग गर्दै आएको जानकारी दिएको छ। सो संस्थाका अनुसार इँटा उद्योगमा ३८ प्रतिशत भारतीयहरु कामदारको रुपमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।