संविधान संशोधन नगरे यो सरकारलाई पाप लाग्छ : राजेन्द्र महतो

Nepal Live

राजविराज– राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले मधेसी जनताको माग अनुसार संविधान संशोधन नगरे वर्तमान सरकारलाई पाप लाग्ने बताएका छन्।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न बिहिबार राजविराज आएका महतोले संविधान संशोधन गर्न सजिलो होस् भनेर आफूहरुले पनि सरकारलाई समर्थन दिएको बताउँदै भने, ‘अब पनि संविधान संशोधन भएन भने यो सरकारलाई पाप लाग्छ।’

वर्तमान सरकार इतिहासकै बलियो भएको भन्दै उनले अब पनि संविधान संशोधन नगरे कहिले गर्ने भन्दै प्रश्न गरे।

सरकारले हिमाल, पहाड र तराई सबै क्षेत्रको भावनालाई समेटेर काम गर्नु आवश्यक रहेको भन्दै लामो समय आन्दोलन गरेका कारण मधेसवादी दलहरुको मागलाई त अझ प्राथमिकतामा राख्नुपर्ने उनको जिकिर छ। नेता महतोले मधेसी जनताले यही सरकारबाट आफूहरुको भावनाको सम्मान हुने अपेक्षा लिएको स्पष्ट पार्दै भने, ‘परिवर्तनको अनुभूति दिलाउनका लागि पनि संविधान संशोधन गर्न सरकार इमान्दार हुनु आवश्यक छ।’

मधेस आन्दोलनको समयमा उठेका नागरिकता, भाषा, सीमांकन, प्रतिनिधित्व लगायतका माग नै संविधान संशोधनको बटमलाइन भएको जानकारी दिँदै महतोले संशोधन नगरी यथास्थितिमा सरकारमा जानुको कुनै औचित्य नरहेको टिप्पणी गरे। 

उनले भने, ‘सरकारमा जाने विषयमा पार्टीले कुनै निर्णय गरेको छैन।’

नेता महतोले प्रदेश २ मा सरकार परिवर्तन हल्ला वास्तविकता नभएको बताए। प्रदेश २ को सरकार मधेसी जनताको आन्दोलनको परिणाम रहेको भन्दै त्यसमा आफूहरुको तर्फबाट कुनै पनि किसिमको आँच आउने काम नहुने उनको भनाइ छ।

सरकारले स्थानीय र प्रदेशलाई कम बजेट दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। ६३ प्रतिशत बजेट केन्द्रमा राखेर बचेको मात्रै प्रदेश र स्थानीय तहलाई दिनु केन्द्रीकृत मानसिकताको उपज भएको उनको आरोप छ।

दिनेश शर्मा

पत्रकार शर्मा प्रदेश १ बाट नेपाल लाइभका संयोजक हुन् ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार