काठमाडौं– नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिँदै गएको बताउँदै नियम, कानुन र संविधानको पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद रिजालले सरकारलाई पनि नियम, कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
सरकारका सबै निकायबाट धम्क्याउने, थर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उनले दुई तिहाईको दम्भ देखाइए प्रतिपक्षी दलले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत दिए।
संविधानमा सभामुख र उपसभामुख भिन्न–भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउँदा अग्रपंक्तिमा बसेकाहरुले नै अहिले सोही व्यवस्थाको गलत व्याख्या गर्ने गरेको भन्दै उनले सभामुखको गम्भीर ध्यानाकर्षण गराएका हुन्। ‘संविधान बनाउँदा अग्रपंक्तिमा बसेर गरिएको व्यवस्थालाई दलीय जिम्मेवारीको बोधबाट गलत व्याख्या गर्नु उचित हुँदैन।’, उनले भने, ‘संविधान कुल्चेर दुई तिहाइको दम्भले नभई संसदीय अभ्यासको अनुकरणीय काम गर्न म सरकारलाई सचेत गराउँछु।’
सरकारले तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा उनले गम्भीर आपत्ती जनाए। सबै प्रतिष्ठानले उदाहरणीय काम गरिरहेको भन्दै उनले प्रज्ञा प्रतिष्ठानको अपमान गर्ने असंगतिपूर्ण काम नहोस् भनि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए। ‘ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गामा आँखा लाग्यो भन्ने कुरा आएको छ। जग्गामा आँखा लाग्या हो कि के हो?’, उनले प्रश्न गरे,‘ प्रज्ञालाई यसरी आँखा लगाउन पाईंदैन, प्रज्ञालाई यसरी अपमान गर्न पाईंदैन। प्रज्ञा धेरै मिहेनत साथ यहाँ पुगेको छ। २० लाख पर्यटक ल्याउँदा के देखाउने?’
उनले पर्यटन मन्त्रालयले वेभसाईटमा तस्बिर थप्ने बाहेक उल्लेख्य काम गर्न नसकेको भन्दै भैपरि आउने शिर्षकमा राखिएको १० करोड बजेट कटौतीको माग गरे। २० लाख पर्यटक भित्र्याउने भनिएपनि त्यसका लागि कुनै आधार र काम पर्यटन मन्त्रालयले गर्न नसकेको र पर्यटन मन्त्रीले त्रिभुवन विमानस्थलका कर्मचारीलाई धम्क्याउने काम गरेको आरोपसमेत लगाए।
नेता रिजालले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याइएपनि थप गरिएको ३ घण्टामा जहाज अहिलेसम्म अवतरण गर्ने व्यवस्था नगरिएको दावी गरे।
सार्वजनिक सेवा प्रशारणमा सरकार हस्तक्षेपकारी बन्दै गएको भन्दै उनले सम्पत्ति विवरण पत्रकारले देखाए भन्दैमा कार्यक्रम बन्द गरिएकोमा आक्रोश पोखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।