काठमाडौं– नवगठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का युवा संगठनहरु युवा संघ, नेपाल र वाइसिएल, नेपालले एक हप्ता भित्र एकीकरण प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरेका छन्।
तत्कालीन नेकपा एमालेको युवा संघ, नेपाल र नेकपा (माओवादी केन्द्र)को वाइसिएल, नेपालको एकता कार्यदलको बिहीबार बसेको बैठकले दुई संगठन बीचको एकीकरण प्रक्रियालाई एक हप्ताभित्र टुंग्याउने गरी आन्तरिक छलफललाई तीव्रता दिने निर्णय गरेको हो।
एक हप्ता भित्र दुवै संगठनको एकता प्रक्रियालाई टुंग्याउने गरी कार्यदल स्तरमा छलफल भइरहेको वाइसिएलका अध्यक्ष दिपशिखाले जानकारी दिए।
कार्यदलको बैठकमा एकीकृत संगठनको नाम, विधान र सांगठनिक संरचनाको विषयमा छलफल सुरु गरिएको छ। अध्यक्ष शिखाले संगठनको भावी दिशा भने मुलुकको समृद्धि र रोजगारीको अवसर सिर्जना गर्नका लागि सरकारलाई सक्दो सहयोग गर्ने दिशामा केन्द्रित हुने निश्कर्ष निकालिएको बताए।
दुवै संगठनको बुधबार बसेको उच्चस्तरीय बैठकले संगठनको विधान र सांगठनिक संरचना तय गर्ने जिम्मेवारी एकता कार्यदललाई दिने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा बिहीबार वाइसिएलको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको एकता कार्यदलको बैठकले एकीकरणको समग्र विषयमा छलफल सुरु गरेको हो।
एकीकृत संगठनको नाम सम्भवतः नयाँ रहनेमा आम सहमति हुने वाइसिएलको दावी छ। तर, युवा संघले भने युवाहरुको प्रतिनिधित्व गर्ने संगठन भएकाले यसको नाम युवा संघ, नेपालनै राख्न उपयुक्त हुने तर्क गर्दै आएको छ।
दुवै संगठनले एकीकरणको प्रारुप तयार पारेपछि पार्टीले त्यसलाई अनुमोदन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।