काठमाडौं– नेपालको कुल जनसंख्यामध्ये १ करोड ५ लाख ७० हजार ८ जना आर्थिक रुपले सक्रिय रहेको पाइएको छ। यो कुल जनसंख्याको ३९ दशमलब ९ प्रतिशत हो।
प्रदेश ३ आर्थिक रुपले सक्रिय जनसंख्याको आधारमा पहिलो स्थानमा छ। नेपाल राष्ट्र बैंकको १० महिनाको तथ्यांकअनुसार यस प्रदेशमा कुल जनसंख्याको ४२ दशमलब ५ प्रतिशत आर्थिक रुपले सक्षम रहेका छन्। देशको राजधानी काठमाडौंसमेत रहेको प्रदेश ३ मा २३ लाख ४८ हजार ४ सय ५३ जना मानिस आर्थिक रुपमले सक्रिय रहेको तथ्यांक छ।
यता, प्रदेश ३ को तुलनामा प्रदेश २ मा आर्थिक रुपमा सक्रिय जनसंख्याको हिस्सा कम रहेको छ। यस प्रदेशमा १६ लाख ७३ हजार १ सय ७७ जना जनसंख्या आर्थिक रुपमा सक्रिय छन्। जुन यस प्रदेशको कुल जनसंख्याको ३१ प्रतिशत मात्र हुन आउँछ।
प्रदेश १ मा कुल जनसंख्यामध्ये १९ लाख ४९ हजार १ सय ६४ जना आर्थिक रुपले सक्रिय रहेका छन्। जुन उक्त प्रदेशको कुल जनसंख्याको ४३ प्रतिशत हो।
प्रदेश ४ र ५ मा यो संख्या क्रमशः १२ लाख १ हजार ३ सय २० र १६ लाख ६८ हजार ३ सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ। प्रदेशको जम्मा जनसंख्याको हिसाबमा प्रदेश ४ को लागि ४३ दशमलब ९ प्रतिशत र ५ को लागि ४० दशमलब ६ प्रतिशत आर्थिक रुपमा सक्रिय रहेको पाइएको छ।
यता, आर्थिक स्तर र विकासको हिसाबले पिछडिएको भनिएको कर्णाली प्रदेशमा कुल जनसंख्याको ४१ दशमलब ४ प्रतिशत जनसंख्या मात्र आर्थिक रुपमा सक्षम छन्। राष्ट्र बैंकका अनुसार संख्यामा भने ६ लाख ७१ हजार ६ सय ९२ जना रहेको बताइएको छ।
प्रदेश ७ मा १० लाख ५८ हजार ५ सय १९ जना आर्थिक रुपमा सक्षक रहेका छन्। यो उक्त प्रदेशको कुल जनसंख्याको ४१ दशमलब ५ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।