ad

म्याग्दीमा घुस खाएकाे अाराेपमा इञ्जिनियर र प्राविधिक बर्खास्त

SHARES
Nepal Live

बाबियाचौर– सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन्। 

कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन्। 

उनीहरुको करार सेवाको सम्झौता रद्द गरेर छानबिनका लागि प्रशासन कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा फाइल पठाइएको एकाइका प्रमुख रामकुमार श्रेष्ठले बताए।

धौलागिरी गाउँपालिका–३, दरको सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र स्थानीय अगुवाले जेठ ७ गते खनाल र उप्रेतीले घुस खाएको उजुरी दर्ता गराएका थिए। 

आर्थिक वर्ष २०७२÷०७३ मा सुरु भएको १९ लाख ५० हजार रुपैयाँ विनियोजित तीन कोठे भवनको नापजाँचका क्रममा २०७४ असोजमा २० हजार रुपैयाँ घुस लिएको उजुरीमा उल्लेख छ। 

यसैगरी, २०७४÷०७५ मा ३१ लाख ५० हजार रुपैयाँ बजेटको तीन कोठे ट्रस भवन योजना पारिदिने भनेर २ लाख ५० हजार रुपैयाँ माग गरेका खनालले प्राविधिक उप्रेतीमार्फत पहिलो किस्ता पेश्की निकालेपछि २०७४ मंसिर १३ गते बेलुकी ५० हजार रुपैयाँ लिएको आरोप लागेको छ। 

पुरानो योजनाको फरफारकका क्रममा थप ६३ हजार रुपैयाँ माग गरेका थिए। उनीहरुले मागेअनुसारको पैसा नदिए कार्यालयका प्रमुख, लेखापाल रिसाउने, योजना फरफारक नहुने र भएपनि पछि बेरुजु देखिने धम्की दिएर बाध्य बनाउने गरेको उजुरीमा उल्लेख छ। 

एकाइमा परेको उजुरी र आरोपित कर्मचारीले पेश गरेको स्पष्टीकरणसहित थप छानबिनका लागि अख्तियारमा पठाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए।  

आरोपित इञ्जिनियर र प्राविधिकले भवन निर्माण समितिले सम्झौता र नक्साअनुसारको काम नगरेको पाइएपछि पुनः नक्सा बनाउँदा परामर्शदाता कम्पनीलाई भुक्तानी दिने क्रममा घुस खाएको आरोप लगाइएको दावी गर्दै आएका छन्। 

उजुरी परेपछि उनीहरुले घुस लिएको रकम फिर्ता गरेर उजुरी फिर्ता लिन दबाव दिँदै आएका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकले बताएका छन्। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार