जाजरकोट– जाजरकोटमा मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ।
भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नगर उपप्रमुख भावना भण्डारीले हस्तान्तरण गरेकी हुन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत उक्त सामग्री कृषकलाई उपप्रमुख भण्डारीले हस्तान्तरण गरेकी हुन्। मकै पकेट सञ्चालक समिति, तिमिलेका ३१ घरपरिवारलाई सिटविन, कर्नसेलर तथा मकै सुकाउने पाल दिइएको हो। ३१ सेटमा रहेका १ सय ५ वटा मकैको बीउ राख्न प्रयोग गरिने सिट विन, २१ वटा हाते कर्नसेलर र ३० वटा मकै सुकाउन प्रयोग गरिने त्रिपाल कृषकलाई हस्तान्तरण गरिएको छ।
मकै पकेट सञ्चालक समिति, तिमिलेका कृषकले १० हेक्टर जमीनमा अढाई क्विन्टल मकैको मूल बीउ रोपेका छन्।
बीउ उत्पादन राम्रो भए अन्य जिल्लामा निर्यात गर्न सकिने नगर कृषि उपशाखाका निमित्त प्रमुख यज्ञबहादुर अधिकारीले बताए। तिमिले मकै उत्पादनको राम्रो क्षेत्र रहेकाले लक्ष्यअनुसारको मकैको बीउ उत्पादन हुने उनले विश्वास गरे।
यसैबीच, मकै बीउ उत्पादनसम्बन्धी स्थलगत तालिम मंगलबार तिमिलेमा सम्पन्न भएको छ। मकै पकेट सञ्चालक समितिमा आबद्ध कृषकलाई उक्त तालिम दिइएको हो। मकैको मूल बीउ रोपेका कृषकलाई यसको रेखदेख गर्न तालिम दिइएको निमित्त प्रमुख तथा कृषि प्राविधिक अधिकारीले जानकारी दिए।
कृषि प्राविधिक गाउँमै आएर मकैको गोडमेल गर्ने तरिका, झारपात हटाउनेलगायतको प्राविधिक कुरा सिकाएकोमा मकै पकेट क्षेत्र तिमिलेका संयोजक ललित खत्रीले खुसी व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।