विराटनगर– देशको अग्रणी उद्योग विराटनगर जुट मिलको सेयर घोटाला काण्डमा अर्थ राज्यमन्त्री उदय शमशेर राणाको घरकै सेयर जोखिममा परेको छ।
उनीसँगै नेपालका पहिलो जननिर्वाचित अर्थमन्त्री सूवर्ण शमशेरको परिवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा, मदन पुरस्कार गुठी, पूर्व आर्मी चिफ गौरवशमशेर राणा, जुट मिलका पूर्व बोर्ड अध्यक्ष लिलाप्रसाद लोहनी लगायत १ सय ७२ जनाको सेयर जोखिममा परेको हो।
अर्थ राज्यमन्त्री राणाले विराटनगर जुटमिलमा सेयर घोटालाबारे आफूले जानकारी पाएको बताउँदै यसलाई गम्भीर रुपमा लिएको जानकारी दिएका छन्। उनले भने, 'यो कुरा हाम्रो जानकारीमा आइसकेको छ। सेयर घोटालाको विषयमा अध्ययन गरेर उचित निष्कर्षमा पुग्नेछौं।'
विराटनगर जुट मिलको ५ अर्बभन्दा बढीको कूल सम्पत्ति डुबाउन नेकपा एमालेको कार्यकालमा सरकारले नियुक्त गरेको निलहरि काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिका पदाधिकारी नै जुट मिल धरासायी बनाउने अभियानमा लागेको तथ्य यसै साता नेपाल लाइभले सार्वजनिक गरेको थियो।
नेपाल लाइभलाई प्राप्त दस्ताबेज अनुसार अर्थ राज्यमन्त्री राणाका बुवा सागरशमशेर राणाको नाममा विराटनगर जुट मिलमा २ वटा भिन्न कित्ता गरी २ हजार ३ सय ४२ सेयर छ।
यस्तै, पूर्व अर्थमन्त्री सूवर्णका छोराहरु कनक र रुक्म शमशेर राणाको नाममा ४८–४८ कित्ता सेयर छ। पशुपतिशमशेरको नाममा १ हजार २ सय १५ कित्ता सेयर छ। मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालय गरी ९ सय १५ कित्ता सेयर रहेको छ। पूर्व आर्मी चिफ गौरवशमशेरको नाममा १५ कित्ता सेयर छ।
सरकारले ७ वर्षअघि मिल सञ्चालनका लागि ५५ करोड रुपैयाँ कर्मचारी र मजदुरी कटौती (पे–अफ) का लागि दिएको थियो। त्यतिबेला सरकारले आफ्नो नाममा रहेको ४६ दशमलव ५१ प्रतिशत सेयरलाई ६८ प्रतिशतमा पुर्याउने सर्तमा जुट मिललाई रकम उपलब्ध गराएको थियो।
तर, मन्त्रिपरिषदको निर्णयलाई बेवास्ता गर्दै २०७२ सालमा काफ्लेको अध्यक्षतामा रहेको सञ्चालक समितिले आफूखुसी सेयर निष्कासन गर्दै सरकारी सेयरलाई ६८ बाट ३८ प्रतिशतमा झार्दै कानुन विपरित सरकारी सेयर आफूले किनेको थियो।
‘सरकारी सेयरलाई अवमूल्यन गरेर आफूले चाहेको निर्णय लाद्न सबै प्रपञ्च रचेको स्पष्ट छ,’ साधारण शेयरधनी प्रमोद लोहनीले नेपाल लाइभसँग भने, ‘सरकारी सेयर व्यक्तिको नाममा कसरी ट्रान्सफर भयो भनेर सोध्दा उल्टै धम्की दिने काम भएको छ।’
विराटनगर जुट मिलको स्थापना राणा कालमा देशको पहिलो उद्योगका रुपमा १९९३ सालमा भएको थियो। प्राइभेट सेक्टरको लगानीलाई बढावा दिने उद्देश्यसहित स्थापना भएको यो जुट मिलबाट प्रजातन्त्रका लागि २००७ सालमा क्रान्तिको सुरुवात भएको थियो।
विराटनगर जुट मिल ६९ विघामा फैलिएको छ। सरकारी मूल्याङ्कन अनुसार जग्गाको मूल्य करिब ५ अर्ब आँकलन गरिएको छ। मिल हाल चालु अवस्थामा छ र यहाँको मेसिनहरुको मूल्यांकन मात्र ४० करोड रुपैयाँ छ।
निलहरी काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिमा सदस्य रहेका फूलकुमार लालवानी त्यतिबेला केही त्रुटि भएको स्वीकार गर्छन्। उनी त्यतिबेला भएको गल्ती सच्चिनु आवश्यक रहेको बताउँछन्।
‘सरकारको सेयर कसैले किनेको छ भने त्यो गल्ती भएकै हो। त्रृटि सच्चिनुपर्छ,’ उनले भने।
बिराटनगर जुट मिलका साधारण सेयरधनीको सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।