कर्णाली सरकार : नीति तथा कार्यक्रम पारित, बजेटको आकार २३ अर्ब बढी

Nepal Live

सुर्खेत– कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम तीन दिनको छलफलपछि बुधबार बहुमतले पारित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेको छ । संविधानतः असार १ गते आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट संसदमा प्रस्तुत हुनेछ। कर्णाली प्रदेश सरकारले करिब २३ अर्ब भन्दा बढीको बजेट निर्माण गर्ने अन्तिम तयारी गरिरहेको छ। पहिलो पटक पूर्ण बजेट ल्याउने तयारीमा जुटेको प्रदेश सरकारले बजेटको आकार २३ अर्बभन्दा बढी हुने जनाएको छ।  

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षको तीन महिनाका लागि ल्याइएको बजेट कार्यान्वयनमा समस्या देखिएपछि यसपटक कार्यान्वयनमुखी बजेट निर्माण गर्न लागिएको बताए।

कर्णालीलाई संघीय सरकारले १६ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ अनुदान दिएको छ। यसका साथै ६ अर्ब रुपैयाँ सशर्त अनुदान पनि संघीय सरकारबाट प्राप्त भएको मन्त्री ज्वालाले जानकारी दिए। उनले भने,‘संघीय सरकारले उपलब्ध गराएको अनुदानका साथै प्रदेश सरकारको सञ्चित कोषमा रहेको रकम समावेश गरेर कुल बजेट तयार पारिँदै छ।’ 

चालु आर्थिक वर्षको तीन महिनाका लागि ल्याइएको १ अर्ब २ करोड रुपैयाँको बजेटबाट हालसम्म ६ प्रतिशत मात्र रकम खर्च भएको छ। खर्च हुन नसक्दा उक्त बजेटबाट करिब ५० करोड रुपैयाँभन्दा बढी प्रदेश सरकारको सञ्चित कोषमा नै बचत हुने देखिएको छ।

संघीय सरकारले उपलब्ध गराएको अनुदानका साथै आन्तरिक स्रोतको मूल्यांकन र विदेशी दाताहरुको सहयोगसमेत समावेश गरेर बजेट ल्याउन लागिएको मन्त्री ज्वालाले जानकारी दिए।

अहिलेसम्म वास्तविक बजेटको आकार २३ अर्बको हुने टुंगो लगाइएको भएपनि योजना कार्यान्वयनको आवश्यकतालाई हेरेर ऋणसहितको घाटा बजेट पनि ल्याउनेबारे छलफल भइरहेको मन्त्री ज्वाला बताउँछन्। प्रदेश सरकारले केन्द्र सरकारसँग ऋण लिने, आन्तरिक स्रोत बढाउने र वैदेशिक दाताहरुसँगको अनुदान पनि संकलन गर्नेगरी बजेट बनाउन लागेको हो। ‘प्रदेशमा लगानीकर्ताको स्रोतलाई आधार मानेर पनि बजेटको आकार बढाएर ल्याउन लागिएको हो।’, मन्त्री ज्वालाले भने।

विनोद शाही

शाही नेपाल लाइभका कर्णाली प्रदेश संयोजक हुन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार