काठमाडौं– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को उद्घाटन खेलमा अाज आयोजक रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
खेलअघि नेपाल लाइभले थ्रीस्टारका प्रशिक्षक मेघराज केसी र अमेरिकामा रहेका नेपाली प्रशिक्षक प्रदीप हुमागाईंसँग कुराकानी गरेको छ।
प्रशिक्षक केसीले अाजको खेलमा आयोजक रसियाको पल्ला भारी हुने भन्दै रसियाले जित्ने संकेत गरे। 'आयोजक भएकाले रसियाको मनोबल उच्च छ,' केसी भन्छन्, 'रसियाका खेलाडीले युरोपका विभिन्न क्लबहरुबाट खेलिरहेका छन्, जसबाट उनीहरुलाई प्रत्यक्ष फाइदा पुग्नेछ।'
तर रसियाको पछिल्लो समय प्रदर्शन राम्रो नभएकाे केसी बताउँछन्। 'रसिया पछिल्लो समय फर्ममा छैन। जसको फाइदा साउदी अरेबियालाई छ।,' उनले भने।
केसीका अनुसार साउदी अरेबियाका लागि अाज कठिन खेल हुनेछ। 'साउदी अरेबिया एसियाको पावर हाउस हो। तर पनि बलियो एसियन टिम र युरोपियन टिमको स्तर मिल्दैन। त्यसलै रसिया विरुद्धको खेल साउदीका लागि दबावपूर्ण हुनेछ। साउदीभन्दा रसिया बलियो टिम पनि हो,' केसीले भने।
उता थ्रीस्टारका पूर्व प्रशिक्षक समेत रहेका हुमागाईं रसिया र साउदी अरेबियाबीचको उद्घाटन खेल बराबरीमा सकिने प्रेडिक्सन (पूर्वानुमान) गर्छन्।
'रसियालाई होम ग्राउन्डको फाइदा छ। तर आयोजकलाई पहिलो खेलमा दाबाव हुन्छ,' हुमागाईंले भने। उनका अनुसार साउदी अरेबियाले पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेको थियो। 'साउदी अरेबियाले डिफेन्डिङ च्याम्पियन जर्मनीसँग उत्कृष्ट खेल खेलेको थियो। हुन त जर्मनीले मैत्रीपूर्ण खेलमा ध्यान नदिएको पनि हुन सक्छ। तरपनि साउदीको खेल साँच्चै राम्रो थियो।,' उनले भने।
शारीरिक रुपमा दुवै टिमका खेलाडी समान रहेकाे हुमागाईंले बताउँछन्। 'साउदीका खेलाडीहरु शारीरिक रुपमा बलिया छन्। खेलाडीको शारिरीक बनावट अफ्रिकनसँग मिल्दो छ। रसियन खेलाडी पनि बलिया छन्। त्यसैले रसिया र साउदीबीचको खेल फिजिकल पनि हुन्छ।, ' उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।