पोखरा– कास्कीमा घरभित्र हुने अधिकांश महिला हिंसाका घटना मादक पदार्थ सेवनका कारणले हुने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीमा रहेको महिला तथा बालबालिका केन्द्रमा आएका उजुरीका आधारमा यस्तो तथ्याङ्क पाइएको हो।
मादक पदार्थ सेवन गर्ने पुरुषले नशामै महिलामाथि कुटपिटलगायतका हिंसा गर्ने गरेको पाइएको महिला तथा बालबालिका केन्द्रले जनाएको छ। अघिल्लो २ वर्ष भन्दा यो वर्ष घरेलु हिंसामा परेका महिलाबाट धेरै उजुरी आएको केन्द्रकी प्रमुख इन्सपेक्टर चन्द्राकुमारी गुरुङले बताइन्।
आर्थिक वर्ष २०७४/०७५ को १० महिनामा केन्द्रमा महिला हिंसाका ३ सय १५ निवेदन परेको छ। त्यसमध्ये पुरुषले मादक पदार्थ सेवन गरी मानसिक तथा शारीरिक यातना दिइएका आधाभन्दा बढी घटना छन्। केन्द्रका अनुसार श्रीमानले मादक पदार्थ सेवन गरी यातना दिन थालेपछि श्रीमानकाविरुद्ध उजुरी दिने महिलाको संख्या पनि बढ्दै गएको छ।
‘घरमा मदिराको नशामा विभिन्न बहानामा पुरुषले महिलामाथि कुटपिटलगायत मानसिक यातना दिने गरेको पाइएको छ।,’ इन्सेक्टर गुरुङले भनिन्। गुरुङका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा २ सय ७६ वटा र आर्थिक वर्ष २०७३/०७४ मा २ सय ६२ उजुरी केन्द्रमा दर्ता भएका छन्। यो संख्या चालु आर्थिक वर्षको बैसाख महिनासम्म दर्ता भएका उजुरीभन्दा क्रमशः ३९ र ५३ ले बढी हो।
केन्द्रले चालु आर्थिक वर्षमा आएका घरमा भएका महिला हिंसासम्बन्धी उजुरी मध्ये १ सय ६६ वटालाई मिलापत्र गरेको छ । ‘८९ उजुरी अदालतमा पठाएका छौँ,’ इन्सपेक्टर गुरुङले भनिन्, ‘देवानी मुद्धा अन्तर्गत पर्ने भएकाले अदालत पठाएका हौं।’ बाँकी ६० वटा उजुरी अझै पनि विचाराधीन रहेको उनको भनाइ छ।
महिलाहरुबीच हुने झगडाको उजुरी पनि अघिल्लो वर्षको भन्दा यस वर्ष बढेको केन्द्रले जानकारी दिएको छ। श्रीमान श्रीमतीले एकले अर्कालाई शंका उपशंका गर्ने, अपमानजनक व्यवहार गर्ने, गाली–गलौज जस्ता कारणले झै–झगडा हुने गरेको छ।
इन्सपेक्टर गुरुङका अनुसार चालु आर्थिक वर्षमा महिला झै–झगडाका १ सय ७२ वटा उजुरी परेकोमा १ सय २१ वटा मिलापत्रबाट सुल्झाइएको छ। जसमध्ये २ वटा मुद्दालाई अदालतमा पठाइएको छ।
आर्थिक वर्ष २०७२/०७३ मा महिला झै–झगडा सम्बन्धी १ सय ५७ उजुरी परेको थियो। त्यसमध्ये १ सय २० वटा उजुरी मिलापत्र र १४ वटा उजुरी अदालतमा पठाइएको थियो। आर्थिक वर्ष २०७३/०७४ मा भने उजुरीको संख्यामा कमी आएको केन्द्रले जनाएको छ। यस वर्ष १ सय ४५ वटा उजुरी परेकोमा १ सय २१ उजुरी मिलापत्र तथा २ वटा उजुरीलाई छिनोफानोका लागि अदालत पठाइएको केन्द्रको तथ्यांकमा उल्लेख छ।
केन्द्रमा उजुरी गर्न आउनेमा अधिकांश २५ देखि ४० वर्ष उमेर समूहका महिला छन्। उजुरी दिएर कतिपय महिला भने सम्पर्कविहीन हुने गरेका छन्। इन्सपेक्टर गुरुङका अनुसार पहिले झगडा गरेर आवेशमा आउने र उजुरी दिने तर पछि सम्पर्कमा नआउने गरेका छन्। ‘पहिले उजुरी गरिहाल्छन्, पछि उतै कुरा मिलेपछि सम्पर्क विहीन हुन्छन्।,’ उनले भनिन्।
चालु आर्थिक वर्षमा घरमा हुने महिला हिंसा सम्बन्धी उजुरी दिएकामध्ये ६० जना र महिला झै–झगडामा उजुरी दिएकामध्ये ४९ जना सम्पर्क बाहिर रहेको केन्द्रले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।