काठमाडौं– फिल्म सुटिङ प्रयोजनका लागि छापिएको नक्कली नोट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्ले जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
अन्य तीन जनालाई धरौटीमा छाड्ने आदेश भएको छ।
२ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको थियो। गत जेठ २ गते उनीहरुलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो।
‘चंगा चेट’ फिल्मको सुटिङका लागि भनेर उनीहरुले साढे दुई करोड रुपैयाँ भन्दा धेरै नक्कली नोट छापेका थिए। त्यो नोट बजारमा दुरुपयोग भएपछि प्रहरीले वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई पक्राउ गरेको थियो।
उनीहरुबाट सुरुमा २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली भारु बरामद भएकोमा पछि थप २ लाख बरामद भएको थियो।
लुट लगायत फिल्म बनाएका निर्माता वाग्लेले भने केही व्यक्तिहरुको गल्तीले आफुहरुलाई समेत फसाइएको बताएका छन्।
सोही फिल्म सुटिङ यूनिटका केही व्यक्तिहरुले गोंगबुको एक होटलमा फिल्म प्रयोजनका लागि छापिएको नक्कली नोट दिएर झुक्याउन खोजेपछि घटना बाहिर आएको थियो।
बरामद नोटमा भने नक्कली नोट नै भनेर लेखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।