काठमाडौं– विश्वभरका ‘ननभेज’ खानाका पारखीका लागि केएफसी महत्वपूर्ण गन्तव्य बनिसकेको छ। किनभने चर्चित अमेरिकी चेन रेस्टुरेन्ट केएफसी स्वाद र सफार्इ दुवैका लागि उत्तिकै राम्रो मानिन्छ। तर, भेजेटेरियनका लागि भने केएफसीको ढोका बन्द नै छ।
अहिले शाकाहारीहरुको जमात बढ्दैछ। शाकाहारी पनि परिवारसँग केएफसी गएर खान चाहन्छन् तर ‘भेज मेन्यु’ले रोकिरहेको छ। तर अब सबै किसिमका खानाका पारखीहरुलाई केएफसीको ढोका खुल्ला हुने भएको छ।
न्युयोर्क टाइम्सका अनुसार शाकाहारीका लागि लक्षित गर्दै चाँडै नै ‘भेज फ्राइड चिकन’ बजारमा ल्याउने योजना केएफसीको छ।
उसले हालै गरेको यो घोषणाले शाकाहारी व्यत्तिहरुमा खुसी मात्रै होइन, एक प्रकारको खुलदुलीसमेत सिर्जना गरेको छ। ‘भेज चिकेन’ कस्तो होला? केबाट बनाइन्छ होला? जस्ता प्रश्न धेरैका दिमागमा छन्।
यही वर्षायाममा पहिलोपल्ट बेलायतको किचेनमा केएफसीले शाकाहारी मेन्यु राख्नेछ। जहाँ मुख्य आकर्षण भेज चिकन हुनेछ। सन् २०१९ सम्म त विश्वभरि नै पुगिसक्नेछ।
भेज भएपनि यसको स्वाद चिकेनको जस्तै हुनेछ। त्यसैले यसको नाम ‘भेज फ्राइड चिकेन’ राखिएको हो। यसमा प्रयोग हुने खाद्यवस्तु भने गोप्य राखिएको छ। अहिले यसका फरक–फरक स्वादको परीक्षण भइरहेको कम्पनीले जनाएको छ।
मान्छेहरुको आकर्षण ‘ननभेज’तर्फ बढ्दै गएको महशुस गरेपछि चिकेनका लागि प्रसिद्ध केएफसीले यस्तो तरिका अपनाएको हो। स्वास्थ्यप्रति सचेतना बढेकाले धेरैले चिकेनतिर आँखा लाउन छाडेकाले पनि केएफसी नयाँ ढंगले आफूलार्इ प्रस्तुत गर्न खोजिरहेको बताइएको छ।
आफ्ना खानामा क्यालोरी घटाइरहेको केएफसीको नयाँ उपायले एकपटक बजार गर्माउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।