काठमाडौं- नयाँ शक्ति पार्टीका संयोजन डा बाबुराम भट्टराईले आफूले नभएर प्रचण्डले माओवादी आन्दोलनलाई धोका दिएको बताएका छन्। पार्टीको राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलामा बोल्दै उनले आफूले माओवादी आन्दोलनलाई मिलेर रुपान्तरण गरौं भन्दा नमानेका प्रचण्डले माओवादीको जरोकिलो समेत उखेलेर एमालेको पाउमा बिसर्जन गरेको बताए।
भट्टराईले पार्टी परित्याग गर्नुअघि आफूले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर माओवादी आन्दोलनलाई एउटा बिन्दुमा पुर्याएकाले अब माओवादी आन्दोलनलाई मिलेर रुपान्तरण गरौं भन्ने प्रस्ताव राखेको सम्झिए।
'अब माओवादकै नाममा विश्वमा क्रान्ति र परिवर्तन सम्भव छैन। माओवादी ब्यानरबाट विकास र समृद्धि हासिल गरेर 8वादमा जान सम्भव छैन', आफूले प्रचण्ड समक्ष राखेको प्रस्तावबारे उनले भने, 'तर, उहाँले मेरो कुरा मान्नु भएन। दुई वर्षभित्रमा माओवादीको जरोकिलो समेत उखेलेर एमालेको पाउमा लगेर विसर्जन गरिदिनुभयो।'
माओवादीले जनयुद्धको तयारी गर्दैगर्दा तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीका गुण्डाहरुले भद्रकालीमा आफूलाई काट्ने प्रयास भट्टराईले बताए। 'जनयुद्धको तयारीका क्रममा एमालेका केपी ओली गृहमन्त्री थिए। भित्ते काण्डमा उहाँका गुण्डाहरुले भद्रकाली अगाडि काट्ने प्रयास समेत गरेका थिए', उनले थपे, 'त्यतिबेला एमाले नक्कली कम्युनिस्ट हो, त्यसका विरुद्ध सच्चा कम्युनिस्टहरुले माओवादको झन्डा उठाउनुपर्छ भनेर हामी अगाडि बढेका थियौं। त्यसका निम्ति दसौं हजार सहिदले बलिदान गर्नुभयो। तर, आज सहिदका सपनालाई बिर्सेर प्रचण्डले अत्यन्त कूटिल तर्कहरु गरेर त्यही एमालेको भेलमा पार्टी लगेर मिसाइदिनुभयो।'
प्रचण्डले माओवादीलाई एमालेमा मिसाउनु विडम्बना भएको भन्दै डा भट्टराईले प्रचण्डले जनयुद्धका सहिदप्रति ठूलो अपमान गरेको समेत आरोप लगाए। 'उल्टै प्रचार गरियो, बाबुरामले माओवादी आन्दोलनलाई धोका दियो, जनयुद्धलाई धोका दियो,' उनले प्रश्न गरे, 'माओवादी पृष्ठभूमिबाट आएका साथीहरु, नेकपामा रहनुभएका साथीहरुले भन्नुपर्छ, माओवादी आन्दोलनलाई धोका बाबुरामले दियो कि प्रचण्डले?'
प्रचण्ड 'पाइड पाइपर'
प्रचण्ड पुरानो कविता 'पाइड पाइपर अफ ह्यामिलिन'का पात्र पाइड पाइपरजस्तै भएको डा भट्टराईले आरोप लगाए। कवितामा युरोपमा मुसाद्वारा सर्ने रोग फैलिएपछि एकजना राजाले पाइड पाइपर नाम गरेका मुरलीबाधक खोजेर ल्याउँछन्। उनले मुरली बजाउने कलाद्वारा मुसालाई आफू पछिपछि लैजान्छन् र समुद्रमा डुबाउँछन्।
'प्रचण्डले पनि आधुनिक नेपालमा माओवादी आन्दोलनभित्र एउटा पाइड पाइपर भूमिका खेल्नु भएको छ। उहाँले कुतर्कहरुका बाँसुरी बजाउनुभयो। त्याग र बलिदान गरेका साथीहरुलाई थाहै नपाईकन एमालेरुपी हिजो नै विघटित भइसकेको विचारविहीन समुद्रमा लगेर विसर्जन गर्नुभयो', डा भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।