एजेन्सी– २०१८ विश्वकप फुटबल प्रतियोगिता सुरु हुनु एक दिन अघि स्पेनले प्रमुख प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ।
स्पेनिस फुटबल महासंघले ५१ वर्षीय जुलेनलाई बिना जानकारी स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक बनेको भन्दै बर्खास्त गरेको हो। रियल म्याड्रिडले मंगलबार जुलेनलाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको थियो। उनले विश्वकपपछि रियल म्याड्रिडको प्रशिक्षक सम्हाल्ने गरी ३ वर्षको सम्झौता गरेको बताइएको थियो।
रियलको प्रशिक्षक बनेको विषयमा फुटबल महासंघलाई जनाकारी नदिएपछि जुलेन राष्ट्रिय टिमको प्रशिक्षकबाट बर्खास्तगीमा परेका हुन्।
रसिया विश्वकपमा स्पेन समूह 'बी' मा छ। स्पनेले आफ्नो पहिलो खेल शुक्रबार पोर्चुगल विरुद्ध खेल्दैछ।
जुलेन सन् २०१६ मा स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए। भिसेन्ट डेल बोसक्युले राजनीमा दिएपछि उनी प्रशिक्षकमा नियुक्त भएका थिए। त्यसअघि उनी एफसी पोर्टोका प्रशिक्षक थिए। उनको प्रशिक्षकमा स्पेनले २० खेल खेल्दा १४ खेलमा जित हात पारेको थियो। बाँकी ६ खेलमा बराबरी खेलेको स्पेन अपराजित थियो।
अब विश्वकपमा स्पेनको अन्तरिम प्रशिक्षकको रुपमा फुटबल महासंघका स्पोर्टिङ निर्देशक फर्नान्डो हिइरोले काम गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।