काठमाडौं– सरकारले चालु आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने बताइरहँदा २ सय ४३ स्थानीय तहमा अझै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन।
राष्ट्र बैंकको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्क अनुसार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका गरी कुल ३ हजार ६ सय ७३ शाखा सञ्चालनमा रहेका छन्। सञ्चालित अधिकांश शाखाहरु सहर केन्द्रित रहेको पाइएको छ।
विकासको दृष्टिकोणबाट समृद्ध र देशको राजधानी समेत रहेको प्रदेश ३ मा सबैभन्दा बढी शाखा रहेका छन्। यस प्रदेशमा तीन वटै वर्गका बैंक गरेर कुल १ हजार २ सय ६३ शाखा सञ्चालनमा रहेका छन्। प्रदेश ३ मा १ सय १९ वटा स्थानीय तह रहेकोमा ९८ वटामा मात्रै वाणिज्य बैंक पुगेको छ भने ३८ वटा तहमा अझै शाखा सञ्चालनमा आउन सकेका छैनन्।
यता, विकासको दृष्टिले पिछडिएको कर्णाली प्रदेशमा सबैभन्दा कम शाखा विस्तार भएका छन्। कर्णाली प्रदेशमा १ सय १३ बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा रहेका छन्। ७९ वटा स्थानीय तह रहेकोमा ३५ वटामा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन्।
राष्ट्र बैंकका अनुसार प्रदेश १ मा ५ सय ५७ वटा शाखा सञ्चालनमा रहेका छन्। १ सय ३७ वटा स्थानीय तह रहेको उक्त प्रदेशमा ९४ स्थानीय तहमा मात्र बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेको छ। ४३ स्थानीय तह अझै वाणिज्य बैंक विहीन रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
प्रदेश २ मा तीन वर्गका गरि ३ सय ३२ बैंक तथा वित्तिय संस्थाहरुले सेवा प्रवाह गरिरहेका छन्। त्यस्तै १ सय ३६ स्थानीय तहमध्ये ९८ तहमा मात्रै वाणिज्य बैंक पुग्न सकेको छ। ३८ स्थानिय तह वाणिज्य बैंक विहीन रहेका छन्।
प्रदेश ४ मा ५ सय ५३ वटा बैंक तथा वित्तीय संस्था रहेका छन्। यस प्रदेशमा रहेका ८५ स्थानीय तहमध्ये २१ तहमा हालसम्म वाणिज्य बैंकको शाखा खुलेको छैन।
प्रदेश ५ मा ६ सय ५८ वटा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्चालनमा छन्। १ सय ९ स्थानीय तह रहेको प्रदेश ५ मा ८५ वटामा वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गर्न सकेको छ।
यसैगरी प्रदेश ७ मा बैंक तथा वित्तीय संस्थाहरुको २ सय १५ वटा शाखाहरुले सेवा प्रवाह गरिरहेका छन्। यस प्रदेशमा ८८ वटा स्थानीय तह छन्। जसमध्ये ४४ तहमा वाणिज्य बैंकको शाखा पुगेको छ भने समान ४४ स्थानीय तहमानै वाणिज्य बैंकले शाखा खोल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।