काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षभित्र सरकारको लक्ष्य अनुसार नै आर्थिक वृद्धि हुने बताएका छन्।
काठमाडौंमा आयोजित मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा गभर्नर नेपालले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य आगामी आर्थिक वर्षमा पूरा हुने विश्वास व्यक्त गरे। स्थायी सरकार नै आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने मुख्य आधार भएको उनको भनाइ छ।
प्रदेश र स्थानीय तहमा पनि आर्थिक गतिविधि बढ्ने भएकाले मुलुकको आर्थिक वृद्धिदर बढोत्तरी हुँदै जाने गभर्नर नेपालले बताए। विगतमा विद्युत आपूर्ति नहुँदा समेत आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुगेको उल्लेख गर्दै अब आर्थिक वृद्धिदर बढाउन आवश्यक वातावरण बन्दै गएको पनि स्पष्ट पारे।
गभर्नर नेपालले आर्थिक वृद्धिदर हासिल हुनेगरी बजेट खर्च हुने आधारको रुपमा प्रदेश र स्थानीय सरकार रहेको पनि बताए। प्रदेश र स्थानीय तहमा आर्थिक गतिविधिको अत्यधिक माग भएकाले पनि पुँजीगत खर्च बढाउन समस्या नहुने गभर्नर नेपालको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।