काठमाडौं– बिपी राजमार्गमा ठूला गाडी चलाउन सर्वोच्च अदालतले लगाएको रोकप्रति नेकपामा सांसद गणेशकुमार पहाडीले आक्रोश व्यक्त गरेका छन्।
संसद् बैठकमा आफ्नो धारणा राख्दै उनले प्रश्न गरे, 'के बिपी राजमार्ग सेल्फी खिच्न वा फिल्म सुटिङ गर्न मात्र हो?'
रामेछाप, दोलाखा, ओखलढुंगा र सिन्धुली जोड्ने सडकमा लगाइएको रोकले गाउँगाउँमा समस्या भएको भन्दै उनले त्यसमा सदनको ध्यानाकर्षण गराए। भूकम्प प्रभावित जिल्लाहरुमा पुनर्निर्माणका लागि ठूला गाडी सञ्चालन गर्न नपाउँदा समस्या भएको बताए।
‘अहिले स्थानीयहरु प्रश्न गर्न थालेका छन्- राजमार्ग निर्माण गर्न त जग्गा दियौं तर अहिले किन साँघुरो?, यात्रुबस किन सञ्चालन गर्न दिइएन?’ उनले भने, ‘अहिले ती विस्थापित जनताले १२ सिटे गाडीसमेत किन चढ्न किन पाउँदैनन्।’
राज्यको कुनै पनि अंगबाट निर्णय गर्दा सबै कुरा अध्ययनबाट हुनुपर्ने भन्दै उनले कार्यपालिका, न्यायपालिका र कार्यपालिकाबाट विकासको विरोध हुन नहुने तर्क गरे।
यातायातमन्त्री रघुवीर महासेठले राजमार्गले धान्नै नसक्ने अवस्थामा ठूला गाडी सञ्चालन गर्न अनुमति दिएका थिए। त्यसविरुद्ध सर्वोच्चमा मुद्दा दायर भए पनि सरकारको अनुमति गैरकानुनी भएको भन्दै कार्यान्वयनमा रोक लगाएको थियो। सर्वोच्चको उक्त आदेशपछि त्यसको विरोधमा सांसद पहाडीले सदनको ध्यानाकर्षण गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।