विकास र समृद्धिको एजेन्डामा कांग्रेसले सरकारलाई सघाउँछ : शेखर कोइराला

Nepal Live

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विकास र समृद्धिको एजेन्डामा कांग्रेसले सरकारलाई सहयोग गर्ने बताएका छन्। तर, सरकारले प्रतिपक्षलाई बेवास्ता गरी एकलौटी रुपमा अगाडि बढ्न खोजेको उनको आरोप छ।

प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले अबको ५ वर्ष कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने तर विकास र समृद्धिको काममा सरकारलाई सहयोग गर्ने बताए।

सरकारले न्यायालयलाई हस्तक्षेप गर्न खोजेको, मुलुकमा दण्डहीनता बढेको लगायतका विषयमा नेता कोइरालाले त्यस विरुद्ध कांग्रेसले खबरदारी गर्नुपर्ने बताए। तर, सरकारका विरुद्ध आन्दोलन नै गर्नुपर्ने बेला नभएको उनको भनाइ छ।

संघीय सरकारले प्रदेश सरकारलाई दिएको बजेट न्यायोचित नभएको पनि कोइरालाले टिप्पणी गरे। यसले संघीयता कार्यान्वयमा समस्या पर्नसक्ने उनको आशंका छ। 

‘संघीयता कार्यान्वयनको अभ्यास प्रदेश र स्थानीय तहमा हुन्छ, तर तिनै निकायमा बजेट कम छ’, उनले भने, ‘संघीयता सफल पार्ने हो भने स्थानीय तहमा बजेट विनियोजन गर्दा कन्जुस्याइँ गर्नुहुन्न।’

उनले कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने बताए। बहुजातीय र बहुभाषिक मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली नमिल्ने र जनताले पनि नस्विकार्ने उनको धारणा छ। 

पार्टी संगठनभित्रको किचलोको विषयमा नेता कोइरालाले गुट–उपगुटका कारण कांग्रेस कमजोर हुँदै गएकाले आपसी एकता जरुरी भएको बताए। आन्तरिक लडाइँका कारण नै निर्वाचनमा कांग्रेसले पराजय भोग्नुपरेको उनको बुझाइ छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार