काठमाडौं– बुधबार बिहान काठमाडौंको जडिबुटीमा भएको दुर्घटनामा परेकी काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको छ। भण्डारीले चलाएको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई बा ४ ख ३५५८ नम्बरको टिप्परले ठक्कर दिएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार दुर्घटनामा परेकी भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ। टिप्परका चालक पृथ्वीनारायण नापितलाई पक्राउ गरिएको एसपी जोशीले बताए।
भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको टिप्परले सोही दिशातर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि टिप्परमा आगो लगाई स्थानीयले चक्काजाम गरेका थिए। जसका कारण कोटेश्वर, जडिबुटी, पेप्सीकोला तथा गठ्ठाघरमा जाम भएको थियो।
आगलागी गरिएको टिप्परलाई सडकबाट हटाइएको र सडकको अवस्था हाल सामान्य भएको एसपी जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।