पर्वत- आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन।
लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन्। पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि नआएपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गरेका हुन्।
घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण पनि आफूहरुलाई विभिन्न निकायमा पुगेर ताकेता गर्न समस्या भएको भन्दै मृतक नशिवको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्थामा धाइरहेको उनले गुनासो गरे। रोजगारीका लागि मलेसिया पुगेका नशिवमाथि नेपाली साथीभाइले कुटपिट गरेका थिए। पेटमा फलामे रड घोचिएपछि उपचारका क्रममा उनको गत जेठ १५ गते मलेसियाकै पुत्रोदय अस्पतालमा मृत्यु भएको थियो।
रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चार जना युवाले नशिवमाथि जेठ ६ गते आक्रमण गरेका थिए। नशिवको शव एक हप्तामै नेपाल आइपुग्ने भनिएको भए पनि अझैसम्म शव नआउँदा उनको परिवार हरेक दिन उनकै शोक र मृत शरीरको प्रतीक्षामा रहेको छ।
करिब २० महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन्। उनी अविवाहित थिए। उनको मृत्युको खबर सुनेपछि आमा देवी क्षेत्री अर्धचेत अवस्थामा हुनुहुन्छ भने गाउँलेमा समेत रुवाबासी चलेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।