नेपाली फिल्मका आलोचकहरुको वर्षौंदेखिको एउटै चिन्ता छ, नेपाली फिल्मले नयाँ कथा नै ल्याउन सकेन। फिल्म उद्योगमा रहेकाहरुको सधैंको चिन्ता चाहिँ जे गरे पनि फिल्म नै चलेन भन्ने रहँदै आएको छ। अनि जवाफमा आलोचकहरु भन्छन्, 'कथा खोई त?'
८-९ महिनाअघि नेपाली फिल्मको विषयमा एउटा भिडियो रिपोर्ट तयार पार्ने सिलसिलामा लेखक उपेन्द्र सुब्बासँग भेट भयो। उपेन्द्र कुनै नयाँ फिल्मको कथा लेखिरहेका थिए। 'हाम्रा फिल्महरुमा मौलिक नेपाली कथा किन छैनन्?' भन्ने प्रश्नमा क्यामरा अगाडि उपेन्द्रले लामै जवाफ दिए।
कुराकानी सकेर जब क्यामरा बन्द गरेँ, अनि उनले ठूलै हाँसोसहित भने, 'खास कुरो त मैले भन्दै भनिनँ नि!' 'भन्नुस् न त' भनेर फेरि क्यामरा सोझ्याएपछि उनले मनमा लागेको गाँठी कुरा खोले। उनको ठम्याइ थियो, 'नेपाली फिल्मका कथाका लागि पर्याप्त लगानी नै हुँदैन।'
उल्लिखित विवरणका बाबजुद बितेको दशक केही नेपाली फिल्ले तहल्का मात्र पिटेनन्, नेपाली सिनेमाको परम्परागत धारलाई नै ठूलो धक्का दिए। निश्चल बस्नेत निर्देशित 'लुट'ले नेपाली फिल्मको स्थापित धारलाई राम्रैसँग हल्लायो। दशकौंदेखिको त्यो धारलाई नेपाली सिनेमाको मूल धार मानिन्थ्यो र 'लुट'लाई फरक र नयाँ धारको रुपमा लिइयो। कथा भन्ने शैली, पात्रहरुको छनोट र निर्देशकीय पक्षले नेपाली फिल्म नहेर्ने दर्शकलाई समेत 'लुट'ले हलसम्म तान्न सफल भयो। फिल्मले कीर्तिमानी व्यापार त गर्यो नै, मल्टिप्लेक्सका दर्शकका लागि पनि नेपाली फिल्म बन्न सक्छन् भन्ने स्थापित गराइदियो।
त्यही सिलसिलामा आएका 'कबड्डी' र 'पशुपतिप्रसाद' जस्ता फिल्मले नेपाली फिल्मका हिरो र हिरोइनको नाप-नक्सा नै बदलिदिए। नेपाली 8का मौलिक कथा कस्ता हुन् भन्नेबारे पनि यी फिल्मले सिकाइदिए। 'छक्कापञ्जा'को सिरिजले सिनेमाको व्यापारमा नयाँ-नयाँ कीर्तिमान जोड्यो। यिनै फिल्महरुको सिको गर्दै वा यिनका एकाध तौरतरिका पछ्याउँदै फिल्म बन्ने क्रम एकातिर चलिरहँदा पुरानै सूत्रका फिल्म पनि बनिरहे।
बितेको दशक कलाकारको स्टारडमले फिल्महरु चलेनन्। भेट्रान निर्देशकहरु यो दशक कि त रित्तो हात बस्नुपर्यो, कि तिनले बनाएका फिल्म फ्लप भए। केही निर्देशक त विदेश पलायन समेत भए भने केहीले पेसा नै फेरे। जुन फिल्म चले, ती चल्नुमा कि त तिनका कथा नयाँ थिए, कि त प्रस्तुति नयाँ। केही फिल्म कलाकारहरुको थोरै नाम वा अभिनयको बलमा चले पनि होलान्, तर कथा नभएका सिनेमा चलेनन्। राजेश हमाल, रेखा थापा, निखिल उप्रेती, करिश्मा मानन्धर, आर्यन सिग्देल आदिको उपस्थितिले मात्रै पनि सिनेमा चल्ने अवस्था यो दशकमा रहेन। अनमोल केसी यसका अपवाद हुन्।
हालै एउटा समाचार आयो। 'नायक अनमोल केसी कुनै एक फिल्ममा ५० लाख पारिश्रमिक लिने गरी अनुबन्धित भए।' हालका दिनमा एउटा नेपाली फिल्म निर्माण गर्दा सरदर १ करोड लगानी हुने जानकारहरु बताउँछन्। यसको अर्थ के भने, निर्माण टोलीले सिंगो फिल्मको कुल बजेटको आधा हिस्सा एकैजना कलाकारमाथि खन्याउँदैछ। समाचारले नेपाली फिल्मका कलाकारहरुलाई उत्साहित बनाएको हुनुपर्छ, तर एकजना मुख्य कलाकारका लागि ५० लाख पारिश्रमिक दिन तयार भएको फिल्म युनिटले सिनेमाको कथाको लागि कति लगानी गर्छ होला?
गत साता काठमाडौंमा चलेको किताब मेलामा 'नेपाली सिनेमाको मूलधार' विषयको छलफलमा एक समयकी सुपरस्टार नायिका तथा निर्माता करिश्मा मानन्धरले नेपाली सिने क्षेत्रको विडम्बनामाथि आफ्नो अनुभव सुनाइन्। केही वर्षअघि एउटा फिल्ममा कथा नै नसुनी लगानी गरेको सुनाउँदै उनले भनिन्, 'सुटिङ सुरु भएपछि बल्ल कथा सुन्ने मौका जुर्योै।' परिणामत: नाम 'फागु' भए पनि सिनेमाले हलमा कुनै रङ देखाउन सकेन।
यही दशक नेपालको राजनीतिमा यत्रो परिवर्तन आयो। संघीयताको कार्यान्वयनसँगै अब अरु क्षेत्रमा जस्तै फिल्ममा पनि परिवर्तन आवश्यक छ भन्ने यो दशकले मार्गनिर्देश गरेको छ। तर, फिल्महरुले सही दिशाबोध भने गरिसकेको अवस्था छैन।
हुन त अनमोलमाथि लगानी गर्न निर्माताहरु तयार हुनुको पनि अर्थ छ। फिल्म यस्तो एउटा क्षेत्र हो, जसमा स्टारडम बिक्छ। यदि उद्योगमा कसैको स्टारडम बिक्दैन वा कुनै सुपरस्टार नै छैन भने उद्योग संक्रमणमा रहन्छ। बितेको दशकका तमाम सकारात्मक पक्षहरुलाई छोड्दा एउटा कमजोर पाटोमध्ये एउटा यही हो कि कुनै त्यस्तो सुपरस्टार बन्ने बाटोमा स्थापित हुन सकेन। फिल्मको अघिल्लो पुस्ताका सुपरस्टार नायक भुवन केसीका छोरा भएकाले पनि अनमोललाई अर्को सुपरस्टार बनाउने प्रयत्न भुवन आफैं र उनको समूहले गरिरहेको छ, जुन एक अर्थले सकारात्मक नै हो। यति भन्दाभन्दै पनि उद्योग टिकाउने महत्वपूर्ण पक्ष भनेको सिनेमाहरुले उठाउने कथा र प्रस्तुति नै हो, जसमा काम नगरी सुखै छैन।
हालै एक मित्रले निर्देशन गरेको फिल्मले राम्रै कमायो। पाँचौं सातामा चलिरहेको फिल्मको सफलताबाट खुसी हुँदै उनले सुनाए, 'सिन्डिकेटे समीक्षकहरुको आलोचनाका बाबजुद फिल्म राम्रो चल्यो यार।' मुख्य कलाकारहरु आफैं पनि लगानीकर्ता रहेको उक्त फिल्म हेर्ने निम्तो आए पनि हेरिएन। सित्तैमा फिल्म हेरेपछि मैले दिने प्रतिक्रिया सही हुन सक्दैन भनेर बहाना बनाएर निम्तो स्वीकार गरिनँ। निर्देशक र कलाकारहरुले हलहरु हाउसफुल भएको बताइरहँदा मिडिया र सामाजिक सञ्जालमा भने एउटा पुरानो बलिउड फिल्मको हुबहु नक्कल भएको फिल्म भनेर आलोचना भइरहेको थियो। त्यही बेला निर्देशक मित्रले सुनाए, 'लगानी सजिलै उठ्यो, प्रोड्युसर खुसी छन्।'
यो फिल्म पनि अनमोल जस्तै अपवाद थियो। यस्ता केही अरु अपवाद पनि नदेखिएका होइनन्। तर अपवादहरुले उद्योग चलाउँदैनन्। सीमित समय चलाएको जस्तो देखिन सक्छ, तर टिकाउन सक्दैनन्। लेखक तथा कलाकार खगेन्द्र लामिछाने भन्दै थिए, 'यथार्थवादी फिल्महरुलाई विश्वभरि नै गाह्रो छ।' हुन पनि विश्वभरिका फिल्म उद्योगहरुमा कलात्मक र यथार्थवादी फिल्महरु छायामा नै छन् र तिनलाई तत् तत् फिल्म उद्योगमा फरक धार भनेर परिभाषित गरिन्छ। तिनीहरु उद्योगको निकै सानो हिस्सा भएर बसेका छन्। नेपालमा त त्यस्ता फिल्मको हिस्सा झनै सानो छ। तर, यथार्थवादी हुँदाहुँदै पनि व्यावसायिक सिनेमा बन्न सक्छ भन्ने उदाहरण हालै छिमेकी उद्योग बलिउडले पनि देखाइसकेको छ।
भारतको कुनै गाउँमा शौचालय नभएको विषयलाई उठाएर २०१७ मा रिलिज भएको बलिउड फिल्म 'ट्वाइलेट – एक प्रेमकथा'ले भारतमा निकै चर्चा कमायो। नितान्त सामाजिक विषयमा बनेको सुपरस्टार अक्षय कुमार अभिनीत फिल्मले कमाइ पनि राम्रो गर्यो। साथै, भारतीय सिने अवार्डहरुमा पनि फिल्मले वर्चश्व कायम गर्यो। बलिउडमा यस्ता उदाहरण धेरै छन्। नेपालमा पनि 'ट्वाइलेट'ले उठाएका जस्ता कथा नभएका होइनन्। तर, मौलिक कथाहरुमा व्यावसायिक चेतका साथ फिल्म बनाउने आँट सिनेकर्मीहरुले गर्न सकिरहेका छैनन्।
नेपाली फिल्म उद्योगमा यो समयमा बनिरहेका अधिकांस फिल्महरुमा नयाँ पुस्ता र नयाँ शैली हावी छ, चले पनि नचले पनि प्रयोगकै नाउँमा भए पनि नयाँ शैलीका फिल्म बनिरहेका छन्। तिनै फिल्महरुले दर्शक संख्या पनि बढाइरहेका छन्। पुरानै तरिकाले फिल्म बनाएर अब चल्दैन भन्ने चेत पनि खुलेको छ। त्यसैले फिल्म निर्माणमा जुटिरहेका कतिपय निर्माता/निर्देशकले कथाकै लागि राम्रै समय र रकम खर्चिरहेका छन्। चल्तीका लेखक साहित्यकारहरुलाई साथ लिएर फिल्म बनाउन सुरु भएको छ। तर, यतिले मात्रै नेपाली फिल्मको अबको बाटो सुखद होला भन्ने ग्यारेन्टी हुन सक्दैन। मूलधार वा फरक धार भन्ने मुख्य प्रश्न होइन, प्रश्न के हो भने राम्रा फिल्म बनिरहेका छन् वा खराब फिल्म बनिरहेका छन् भन्ने हो। हाम्रो परिवेशमा राम्रा फिल्म त्यस्तोलाई मानिन्छ, जसले हाम्रो 8को कथा हाम्रै शैलीमा भन्न सक्छ।
यति भनिरहँदा अब कस्ता फिल्म बन्नुपर्छ भन्ने कुरा पनि यही दशकले निर्देशित गरिरहेको छ। किन पनि भने, यही दशक नेपालको राजनीतिमा यत्रो परिवर्तन आयो। संघीयताको कार्यान्वयनसँगै अब अरु क्षेत्रमा जस्तै फिल्ममा पनि परिवर्तन आवश्यक छ भन्ने यो दशकले मार्गनिर्देश गरेको छ। तर, फिल्महरुले सही दिशाबोध भने गरिसकेको अवस्था छैन। अब कस्ता फिल्म बन्नुपर्छ, कहाँका कस्ता कथाहरु फिल्मले समेट्नुपर्छ भन्ने कुराको बोध सिनेकर्मीहरुमा भइसकेको छैन।
यो दशकका ट्रेन्ड सेटर निर्देशक निश्चल बस्नेत पनि भन्छन्, 'फिल्म बनाउनेहरुको सोचाइको स्तर नबढी सिनेमाको स्तर बढ्दैन।' अर्थ प्रस्ट्याउँदै निश्चल भन्छन्, 'राम्रा फिल्म बनाउन प्रयास नभएका होइनन्, तर बनिरहेका छैनन्। ब्रेक थ्रु भइरहेको छैन।'
उनको भनाइको आशय के भने, फरक र नयाँ सोच भएका मेकरहरु अझै जम्न सकेका छैनन्। निश्चलले भने जस्तै मौलिक फिल्म बन्नका लागि कथा खोज्न सक्नुपर्छ, जसका लागि फिल्ममेकररुले समकालीन 8 र अर्थ-राजनीतिक अवस्थाबारे आफ्नो चेतना र खोजलाई केन्द्रित गर्नु आवश्यक छ।
कवि चन्द्रवीर तुम्बापो एक अनौपचारिक कुराकानीमा भन्दै थिए, 'मुलुक प्रादेशिक संरचनामा गए जस्तै फिल्महरुले पनि अब प्रादेशिक कथाहरु ल्याउन सक्नुपर्छ।' हुन पनि हरेक प्रदेशका सामाजिक, आर्थिक, राजनीतिक अवस्थाहरु भिन्न छन्। फिल्मका लागि कथा बनाउँदै गर्दा काठमाडौं वा शहरकेन्द्रित कथाहरुभन्दा माथि उठ्न सक्नुपर्ने चन्द्रवीरको बुझाइ थियो। गीतको सुटिङका लागि लाखौं खर्चेर भीर पाखा मैदान खोजे जस्तै मौलिक कथा खोज्नका लागि समय र पैसा लगानी गर्नुपर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।