ad

'धुर्मुस'को विश्वकप-सम्झना : बढी गोल गर्नेलाई समर्थन गरिन्थ्यो

SHARES
Nepal Live

काठमाडौं– फुटबलप्रेमीहरुका लागि महान् चाड जस्तै बन्ने विश्वकप फुटबल प्रतियोगिता नजिकिएसँगै अहिले सर्वत्र यसकै माहौल देखिन्छ। आफ्नो प्रिय टिमको जर्सी लगाउनेदेखि कुन राष्ट्रले जित्छ भन्नेसम्मका अनुमान र बहसमा चौक र चौतारो गर्माएको छ।

विश्वकपको यो रन्कोले हरेक क्षेत्रलाई जस्तै कलाकार जगतलाई पनि छोएको छ। हास्यकलाकार सीताराम कट्टेल 'धुर्मुस' कै कुरा गरौं, पछिल्लो समय समाजसेवामा व्यस्त रहेका उनी फुर्सद मिलाएर यस पटकको विश्वकप हेर्ने योजनामा छन्। 

विगतका विश्वकपमा अरु नै टिमलाई समर्थन गरे पनि यस पटक उनी अर्जेन्टिनाको पक्षमा छन्। 

'कारण त भन्नै पर्दैन नि, मेसीको खेल मलाई निकै मन पर्छ', उनले सुनाए।

कुनै समय अर्जेन्टिना नै रुचाएका धुर्मुसले एक समय ब्राजिललाई सपोर्ट गरे। त्यसपछि उनको रोजाइमा जर्मनी परेको थियो। रसिया विश्वकपमा आइपुग्दा पछिल्ला खेलहरुबाट मेसीले मन चोरेपछि उनी अर्जेन्टिनातर्फ ढल्किएका रहेछन्।

त्यसो त धुर्मुस अर्जेन्टिनाका कट्टर समर्थक बनिरहने पक्षमा पनि छैनन्। उनले विकल्प सोचिसकेका छन्, जसले खेल जित्छ, त्यही टिमको पक्षमा उभिने।

विश्वकपकै कुरा गर्दा झापा गौरादहका धुर्मुससँग बालापनको गाउँको सम्झना अझै ताजै छ। सन् १९९८ देखि विश्वकपका हरेक संस्करण हेर्दै आएका उनको सम्झनामा रहेको विगतको किस्सा नेपाल लाइभलाई यसरी सुनाए:

विश्वकप आयो भनेपछि गाउँका ठिटाहरुमा बेग्लै उत्साह छाउँथ्यो। गुरुम्म जम्मा भएर गेम हेर्थ्यौं। तर, उतिबेला मेरो घरमा टिभी थिएन। घरबाट भागेर गाउँमा जसको घरमा टिभी हुन्छ, उसैकोमा गएर हेरिन्थ्यो। कहिले गाउँमै हेरिन्थ्यो, कहिले अलि पर बजारतिर पनि गइन्थ्यो। 

गेम त प्राय: राति नै हुन्थ्यो। त्यसरी रातिराति अरुको घरमा गएर फुटबल हेर्न घरबाट अनुमति थिएन। त्यसैले सुटुक्क भाग्नुपर्ने बाध्यता थियो। भरे-भोलि गाली-पिटाइ खाइने कुराको वास्ता नगरी खेल हेर्न गइन्थ्यो। गाउँका अरु धेरै ठिटाको मेरो जस्तै हालत थियो।

रातिसम्म फुटबल हेरेपछि बिहान अबेरसम्म निद्राले छाड्दैन थियो। त्यसले गर्दा घरमा खूब गाली खाइन्थ्यो। 

एक पटकको घटना भने कहिल्यै भुल्न सक्दिनँ। घरबाट त्यसरी नै राति भागेर खेल हेर्न गएको थिएँ। रातको २ बजे खेल सकिएपछि हतारिँदै घर जान बाहिर निस्कएँ। तर, आफ्नो त चप्पल नै गायब ! त्यसपछि लुरुलुरु खाली खुट्टा घर फर्किएँ।

त्यतिखेर धेरै कुरा नबुझे पनि गेम हेर्न पाउँदा मात्र पनि आनन्द लाग्थ्यो। रमाइलो के छ भने, त्यसबेला आफ्नो रोजाइका खेलाडी र टिम थिएनन्। फलानो खेलाडी र देश भनेर खासै याद पनि गरिन्थेन। जसले बढी गोल गर्थ्यो, त्यसैको सपोर्ट गरिन्थ्यो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार