पोखरा– प्रदेश ४ को सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ। जेठ २५ गते संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम मंगलबार बहुमतका आधारमा पारित भएको हो।
प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नीति तथा कार्यक्रम महत्वाकांक्षी नभएको र हचुवाको भरमा पनि नल्याएको बताए।
उनले भने, ‘प्रदेशसभालाई साक्षी राखेर ५ वर्षमा हासिल गर्ने विकास र समृद्धिको हामीले तयार पारेका हौं।’
उनले प्रदेशमा उत्पादकत्व वृद्धि गर्ने, रोजगारको अवस्था सिर्जना गरी सबैलाई स्वरोजगार बनाउनेगरी प्रदेशको अर्थतन्त्र बलियो बनाउने नीति सरकारले ल्याएको दाबी गरे।
मुख्यमन्त्री गुरुङले प्रदेशको प्रतिव्यक्ति आय औसत ८ प्रतिशतले वृद्धि गरी प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने, मुटुरोग, क्यान्सर जस्ता दीर्घरोगको उपचार गर्न अस्पताल निर्माण गर्ने, गाउँपालिकामा २५ र महानगरमा ५० र प्रदेशमा एक हजार शय्याको अस्पताल निर्माण गर्ने लगायतका नीति तथा कार्यक्रम विवेकी ढंगबाट नै ल्याएको बताए।
मुख्यमन्त्री गुरुङले पर्यटनलाई सरकारले पर्यटन र त्यसपछि ऊर्जा, कृषि, उद्योगलाई प्राथमिकतामा राखेको बताए।
उनले भने, ‘ती लक्ष्य पूरा गर्न प्रदेश सरकारले पूर्वाधार तथा कानुन निर्माणलाई जोड दिएको छ।’ उनले नीति तथा कार्यक्रम कार्यान्वयन गरेरै छाड्ने बताए।
ने क पाका सांसद रामजी बरालले सरकारले क्षेत्र विकास कोष राख्न माग गरे। यस्तै, कांग्रेसका सांसद विन्दुकुमार थापाले सुरुङ मार्ग निर्माणमा जोड दिनुपर्ने, ट्राफिक जाम र दुर्घटना न्यूनीकरणका लागि प्रदेशले छुट्टै नीति बनाउनुपर्ने माग गरे।
नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सांसदहरु मायानाथ अधिकारी, कृष्णबहादुर थापा, राजीव पहारी, मोहन रेग्मी, मणिभद्र शर्मा, मधुमाया अधिकारी, दिलमाया रोकामगर, सरिता गुरुङ, आशा कोइराला, इन्द्रलाल सापकोटा लगायतले भनाइ राखेका थिए।
प्रदेशसभाको अर्को बैठक बुधबार २ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।