पोखरा– दमकल र एम्बुलेन्स जस्ता अत्यावश्यक सवारीसाधनलाई सहज बनाउन पोखरा लेखनाथ महानगरपालिका–२८, कालिकामा सडक फराकिलो बनाउन थालिएको छ।
कालिकाको एकवर्षे कार्यप्रगति तथा आगामी योजना प्रस्तुत गर्दै वडाध्यक्ष निर्मल दियालीले मंगलबार पत्रकार सम्मेलनमार्फत सडक विस्ताबारे जानकारी दिए। महानगरपालिकाभित्रै भएर पनि भौगोलिक विकटता भएकाले विकासका कार्य तीव्र हुन नसकेको उनको भनाइ छ। ‘महानगरकै वडा भए पनि धेरै विकट छ। त्यसैले काममा कठिनाइ आएको छ,' उनले भने। साबिक कालिका र माझठाना गाविस मिलेर वडा नम्बर २८ बनेको हो।
कार्यप्रगति पेस गर्दै उनले विकास निर्माण कार्यमा ८ करोड ५० लाख खर्च भएको जानकारी दिए। ‘त्यसमध्ये ५ करोड सडक सञ्जाल विस्तार गर्नमा मात्रै हो,’ उनले भने, ‘३ करोड ५८ लाख राखी मिजुरे गहते–पोसी मर्मत गर्न लाग्यो।’
कालिकामा १ वर्षमा ४० किलोमिटर सडक स्तरोन्नति भएको छ। डाँडागाउँ हुँदै ओख्ले–देउराली, कालिका, साटवारी–वरको डाली, वान्द्रे–वेतानी, तम्लेक–कोलको पाटो–कालिका, सोताको खोला, गौतम टारी सडक गरी ४ किलोमिटर नयाँ ट्रयाक पनि खोलिएको दियालीले जानकारी दिए। शान्तिमैदानदेखि ठस्लाकोट भैरव, कालिका–ठूलाकोट गरी करिब ३ किलोमिटर पैदलमार्ग पनि एक वर्षमा निर्माण गरिएको छ।
पर्यटन विकास गर्न ठूलाकोट कालभैरव मन्दिर र मनकामना मन्दिरलाई पनि वडाले विशेष महत्वमा राखेको छ। कालभैरव मन्दिर संरक्षण गर्न कोतघर पुनः निर्माण काम पनि अघि बढाइएको र मौलाकालिका मन्दिरबाट कास्कीका ७ ताल हेर्न भ्यु टावर निर्माण गरिने पनि उनले योजना सुनाए।
३ सय २४ घरधुरीमा एकघर एक धारा पुर्याउने लक्ष्य वडाले राखेको छ। सीमित ठाउँमा खानेपानी पुर्याउन २६ लाख खर्च लागेको दियालीले बताए।
सोलार खानेपानी योजनालाई कार्यान्वयनमा ल्याई खाल्टे लिफ्टिङ खानेपानी आयोजना, बास्तोला–भुर्तेल खानेपानी आयोजना, आज्मारा–धारापानी आयोजना, थाक खानेपानी आयोजना, जुकेपानी, माझपानी, छहरे, स्यानीस्वारी खानेपानी आयोजनालाई व्यवस्थित गरी आउँदो ४ वर्षमा प्रत्येक घरमा धारा पुर्याउने गरी काम गरिरहेको उनले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।