काठमाडौं– फुटबलको महाकुम्भ 'वर्ल्डकप २०१८' आउन २ दिन बाँकी छ। हरेक वर्ग-क्षेत्रका व्यक्तिमा वर्ल्डकप फिभर सुरु भइसकेको छ। नेपाली लोकसंगीतका जाँगरिला गायक बद्री पंगेनी पनि यसबाट टाढा छैनन्। तर टिम र खेलाडीका सन्दर्भमा भने उनको रोजाइ अरुको भन्दा भिन्न छ।
चर्चित फुटबलर म्याराडोनाका डाइहार्ड फ्यान बद्री पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको खेल औधी रुचाउने गर्छन्।
बाल्यकालदेखि नै फुटबलप्रति झुकाव राख्ने उनी नेपालमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिता हेर्न समय मिलेसम्म खेल स्थलमै पुग्ने गरेका छन्।
रेडियोको कमेन्ट्री सुन्दै सन् १९९८ को वर्ल्डकपबाट स्वाद लिन थालेका बद्रीले त्यसयता कुनै पनि विश्वकप छुटाएका छैनन्। तर कुन टिमलाई बढी सपोर्ट गर्ने भन्नेमा उनको आफ्नै तर्क छ, 'फुटबलमा एउटै टिमलाई सपोर्ट गर्नुपर्छ भन्ने छैन। नेपालसँगको सम्बन्ध र नेपाली युवाहरुको कर्मभूमि भएकाले जापान, कोरिया र साउदी अरेबियालाई मेरो समर्थन।' यी ३ देशले विश्वकप उचाल्ने सम्भावना नभए पनि खुलेरै सपोर्ट गर्ने उनी बताउँछन्।
इंग्ल्यान्ड पनि उनको रोजाइको अर्को टिम हो। 'बेल्जियम, फ्रान्स र पोर्चुगलको खेल पनि मलाई मन पर्छ,' उनले भने। यस पटकको विश्वकपमा फ्रान्स र बेल्जियम फाइनलमा पुग्ने उनको 'भविष्यवाणी'ले बताउँछ। 'यसपालि जित्ने यी दुईमध्ये एउटाले हो,' उनले सुनाए।
विश्वकप हेर्न कुनै समय गाउँका छिमेकी बेदप्रसाद अर्यालको ब्ल्याक एन्ड ह्वाइट टिभीमा झुत्तिने गरेको उनी बिर्सन्नन्। 'साथीहरुसँग खोचाखोच गरेर हामी हेर्न पुग्थ्यौं,' उनी विगतमा फर्किए, 'त्यो बेलाको चासो र रुचिले बेग्लै आनन्द दिन्थ्यो। अहिले त समयको घेराबन्दीमा परेर पहिलेको जस्तो समय दिन कहाँ भ्याउनु!'
यसपालिको विश्वकप भने बद्रीले आफ्नै निरमाया दोहोरी साँझमा फ्यानहरुसँगै बसेर हेर्नेछन्। लोकदोहोरीका फ्यान सँगसँगै रमाउन प्रोजेक्टर सेट र अरु तयारी थालिएको उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।