काठमाडौं– संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ।
लामो समयदेखि रिक्त सर्वोच्चको नेतृत्वबारे निर्णय गर्न आज बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीको नाम सिफारिस गरेको हो।
प्रधानन्यायाधीशका लागि सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भई काम गरेका जोशीका साथै ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणाको नाम न्याय परिषद्ले पठाएको थियो। उनीहरुमध्ये वरीयताक्रममा पहिलो नम्बरमा रहेका जोशीलाई सिफारिस गरिएको हो।
जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारी र कार्यदक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको परिषद सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए।
सर्वोच्चमा चैत १ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त छ। पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो।
संवैधानिक परिषद्ले सिफारिस गरेपछि अब संसदीय सुनुवाइ गर्दै राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ।
परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त पनि सिफारिस गर्ने भनिए पनि यसबारे निकट भविष्यमा परिषद्को अर्को बैठक बसेर निर्णय गर्ने जनाइएको छ।
अख्तियारमा दीप बस्नेतले अवकाश पाएपछि कायममुकायमको भरमा चल्दै आएको छ। हाल नविन घिमिरे अख्तियारको कायममुकायम अध्यक्ष छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।